बीमा सर्भेयर भनेको के हो ?
काठमाडौं । बीमा व्यवसायको एक महत्वपूर्ण अंग हो, बीमा सर्भेयर । सर्भेयरबिना कम्पनीले बीमा दाबी भुक्तानी गर्न सक्दैन । बीमा सर्भेयरले घटना स्थलमा पुगेर क्षतिको लेखाजोखा गरेपछि मात्र बीमा कम्पनीहरुले बीमितलाई दाबी भुक्तानी दिने गरेका छन् ।
बीमा गरिएको कुनै पनि वस्तुको क्षति वा हानी नोक्सानी भएको खण्डमा के–कति हानी नोक्सानी भएको हो, त्यसको राम्ररी मूल्यांकन गरेपछि मात्रै हानी नोक्सानी भए बराबरको रकम बीमालेखले सुरक्षा गर्ने गरेको छ ।
क्षति किन भयो कसरी भयो अथवा कतिको भयो आदि जस्ता कुराहरुको मूल्याङकन र लेखाजोखा गर्न बीमा कम्पनीले व्यक्ति वा संस्थालाई खटाउने गर्दछ । त्यसरी खटाइएको व्यक्ति वा संस्थाबाट आएको प्रतिवेदनलाई मुख्य आधार मानेर बीमा कम्पनीले बीमितलाई रकम भुक्तानी गर्ने गर्दछ । यसरी क्षति भएको सम्पत्तिको मुल्याङ्कन तथा लेखाजोखा गर्ने व्यक्तिलाई नै बीमा सर्भेयर भनेर चिनिन्छ ।
बीमा सर्भेयरका भूमिका के–के हुन् ?
बीमा व्यवसायमा बीमा सर्भेयरका भूमिका धेरै छन् । जसमध्ये स्वतन्त्र पेशाविद र विशेषज्ञको रुपमा काम गर्नु, बीमितको इच्छाको सम्मान गर्नु, बीमाको आधारभूत सिद्धान्तबारे साक्षरता प्रदान गर्नु, घटनाको अनुसन्धानात्मक कार्य गर्नु, बीमा दाबी प्रक्रियामा बीमितलाई सहयोग गर्नु, पेशालाई पूर्ण मर्यादित र व्यवसायिक बनाउनु तथा पूर्ण प्रतिवेदन पेश गर्नु आदि मुख्य भूमिका हुन् ।
यसका साथै, क्षति बीमालेखले समेटेको अवधिभित्र परेको छ छैन, दाबी परेको क्षतिलाई बीमालेखमा उल्लेख भएको जोखिमले समेटेको छ छैन, क्षति वा नष्ट भएको सम्पत्ति बीमालेखमा उल्लेख भए बमोजिम छ छैन, दाबीकर्ता क्षतिपूर्ति प्राप्त गर्न योग्य छ छैन, बीमा गरेको क्षेत्रभित्र क्षति भएको हो होइन तथा क्षतिपूर्ति हुने प्रकारको हो होइन र कतै दाबी जालसाजीपूर्ण वा झुठ्ठा हो होइन आदि जस्ता कुराको यकिन गर्ने तथा तथ्य प्रमाणको सार्थक विश्लेषण गर्नु सर्भेयरका जिम्मेवारी हुन् ।
सर्भेयर बन्न के–के चाहिन्छ योग्यता ?
सर्भेयरको लागी आवश्यक योग्यता बीमा विनियमावली अनुसार कुनै बीमा कम्पनीको कार्यलयमा अधिकृतस्तरको पदमा कम्तिमा दश बर्षसम्म बीमा व्यवसायमा सम्बन्धित कार्यको अनुभव हासिल गरेको अनुभवकाको साथसाथै इन्जिनियरिङ्ग बिषयमा कम्तिमा स्नातक उपाधि हासिल गरेको, अन्तराष्ट्रिय चाटर्ड इन्स्योरेन्स इन्ष्टिच्यूट वा त्यस्ता संस्थाको मान्यता प्राप्त संस्थाबाट बीमा सम्बन्धी बिषयमा कम्तिमा स्नातक उपाधी हासिल गरेको वा चाटर्ड एकाउन्टेन्सी परीक्षा उत्तीर्ण गरेको व्यक्तिले सर्भेयरको लाईसेन्सको लागी समितिमा निवेदन दिन सक्ने छन् । योग्यता पुगेको निवेदकले सर्भेयरको इजाजतपत्र प्राप्त गर्नु अघि समितिले सञ्चालन गरेको सर्भेयर सम्बन्धी तालिममा सहभागी भई तालिम पूरा गरेको पं्रमाणपत्र प्राप्त गरेको हुनुपर्नेछ ।
सर्भेयरले प्रत्येक बर्ष आफनो लाईसेन्स नवीकरण गर्नुपर्नेछ । कार्य अनुभवका आधारमा बीमा सर्भेयरहरुलाई तहगत आधारमा वर्गीकरण गरिएको हुन्छ । समितिले बीमा सर्भेयरहरुलाई कार्य अनुभवका आधारमा ‘क’ ‘ख’ ‘ग’ र ‘घ’ वर्गमा बाड्ने गरेको छ । धेरै अनुभव भएकाहरुलाई ‘क’ त्यसपछि कम अनुभव भएकालाई क्रमश ‘ख’ ‘ग’ वर्गमा र नयाँलाई ‘घ’ वर्गमा राखिने व्यवस्था रहेको छ ।
कस्ता कस्ता समस्या भोग्छन् बीमा सर्भेयरले ?
अन्य पेशामा जस्तै बीमा सर्भेयर पेशामा पनि समस्या चुनौतीका साथसाथै अवसरहरु समेत रहेका हुन्छन् । घटना भएको स्थानमा कम्पनीले सर्भेयरलाई मूल्यांकन गर्न खटाउने गर्दछ । त्
यसरी कम्पनीले खटाएको ठाँउमा चाँडो भन्दा चाँडो गई त्यहा भएको घट्नाको प्रकृति अवस्था र घट्नाले निम्त्याएको क्षति आदिका बारेमा लेखाजोखा गर्नुपर्ने हुन्छ । सर्भेयरले टाढाटाढा गएर समेत आफ्नो कार्य गर्नुपर्ने हुन्छ । सर्भेयरलाई घट्नाको अनुगमन गर्न पठाइएको ठाँउ दुर्गम र विकासका पूर्वाधार आदि नपुगेको ठाँउसमेत हुने गरेको छ । यस्तो स्थानमा जाँदा सर्भेयरले विभिन्न समस्याहरु भोग्ने गरेका हुन्छन् ।
सर्भेयरले गरेको अनुसन्धान कस्लाई बुझाउने गरिन्छ ?
सर्भेयरले आफूले गरेको अनुसन्धान सम्बन्धित कम्पनीमा पठाउने गर्दछन् । यसरी सम्बन्धित कम्पनीमा सर्भेयरले पठाएको अनुसन्धानको विवरण कम्पनीमा प्राप्त भएपछि कम्पनी तथा बीमित, बीमक सबैलाई बीमा फर्छौट गर्न सहज हुने गरेको पाइन्छ ।