विश्व लगानीकर्ता सप्ताह–२०२३ को अवसरमा नेपाल मर्चेण्ट बैंकर संघको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न
काठमाडौं । नेपाल मर्चेण्ट बैंकर संघ (एमबिएएन) ले विश्व लगानीकर्ता सप्ताह, २०२३ विविध कार्यक्रमसहित मनाएको छ । एमबिएएनले गत असोज १५ गतेदेखि २१ गतेसम्म लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम अन्तर्गत विभिन्न प्रतियोगिताहरु समेत संचालन गरेको छ ।
संघले एमबिएएन अन्तर कलेज क्यापिटल मार्केट हाजिरी जवाफ प्रतियोगिता–२०२३ आयोजना गरिएको थियो । आइतबार हाजिरी जवाफ प्रतियोगिताको अन्तिम चरणको खेलहरु सम्पन्न भएको थियो ।
पहिलो चरणमा छनोट भएका ८ वटा कलेजका विजेता टोलीहरु –काठमाडौं कलेज अफ म्यानेजमेण्ट, रिलायन्स कलेज, द ब्रिटिस कलेज, काठमाडौं युनिभर्सिटि स्कूल अफ म्यानेजमेण्ट, क्वेस्ट ईन्टरनेशनल कलेज, नेपाल कलेज अफ म्यानेजमेण्ट, युनिग्लोब कलेज र एपेक्स कलेज द्धितीय चरणका सेमिफाइनल राउन्डको लागि योग्य साबित भएका थिए।
द्धितीय चरणमा प्रवेश गर्न सफल भएका ८ वटा टोलि मध्य विजय हुन सफल ४ वटा टोलि –काठमाडौं कलेज अफ म्यानेजमेण्ट, काठमाडौं युनिभर्सिटि स्कूल अफ म्यानेजमेण्ट, क्वेस्ट ईन्टरनेशनल कलेज र नेपाल कलेज अफ म्यानेजमेण्ट, बिच सोहि दिनको अन्तिम चरणको ग्राण्ड फिनाले प्रतिस्पर्धामा बुद्धिमत्ता र वित्तिय ज्ञानको रोमाञ्चक प्रदर्शन भएको थियो ।
ग्राण्ड फिनालेमा सामान्य राउण्ड, बोनान्जा राउण्ड, बजर राउण्ड, र ¥यापिड फायर राउण्ड शामिल भएको थियो । बुद्धि र रणनीतिको रोमाञ्चक र घनिष्ठ प्रतिस्पर्धामा, काठमाडौं युनिभर्सिटी स्कूल अफ म्यानेजमेन्ट (कुसोम) को टोली विजेताको ट्रफी र १ लाख रुपैया प्रथम नगद पुरस्कार सुरक्षित गर्दै च्याम्पियनको रूपमा उभिन सफल भएको छ ।
त्यस्तै नेपाल कलेज अफ म्यानेजमेण्ट कलेज, फस्ट रनर अप टिमले ट्रफी र ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ र क्वेस्ट इन्टरनेशनल कलेजले अन्तिम राउण्डमा उत्कृष्ट प्रदर्शन गरेपछि २५ हजार रुपैयाँ पुरस्कार सहित तेस्रो स्थानको ट्रफी हात पार्न सफल भएको छ ।
सो कार्यक्रम नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेश हमालले सम्वोधन गरेका थिए । क्यापिटल मार्केट हाजिरी जवाफ प्रतियोगिता लगायतका कार्यक्रम निरन्तर गर्नुपर्ने बताए ।
कार्यक्रममा एमबिएएनका अध्यक्ष विजय लाल श्रेष्ठले विश्व लगानीकर्ता सप्ताह अन्तर्गतका कार्यक्रमका विशेषता र महत्त्वहरुका बारे जानकारी गराएका थिए । सोही अवसरमा प्रतियोगितामा सहभागीहरूको आत्मविश्वासलाई उत्साहित समेत गराएका थिए ।