अर्थशास्त्रतर्फको नोबेल पुरस्कार श्रम अर्थशास्त्री क्लाउडिया गोल्डिनलाई
काठमाडौं । यो वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी श्रम अर्थशास्त्री क्लाउडिया गोल्डिनले जितेकी छन् । रोयल स्विडिस एकेडेमीले एक कार्यक्रमबीच अर्थशास्त्री गोल्डिनलाई विजेता घोषणा गरेको हो ।
गोल्डिनले सदियौँदेखि श्रम बजारमा महिलाको सहभागिता र कमाइबारे अनुसन्धान गरेको एकेडेमीले उल्लेख गरेको छ । आर्थिक इतिहासकार गोल्डिनको अनुसन्धानले परिर्वतनको कारण र लैंगिक अन्तरको मुख्य स्रोत पनि पत्ता लगाएको एकेडेमीको भनाइ छ ।
विश्व श्रम बजारमा महिलाहरूको कम प्रतिनिधित्व र थोरै आम्दानीबारे पनि अर्थशास्त्री गोल्डिनले २०० वर्षदेखिको तथ्यांक संकलन गर्दै लैंगिक अन्तर र रोजगारी दरमा आएको परिवर्तनलाई प्रस्तुत गरेकी छन् ।
अर्थशास्त्रतर्फको नोबेल विजेताले १ करोड १० लाख स्विडिस क्रोनर (९ लाख ९७ हजार अमेरिकी डलर) र पदक प्राप्त गर्नेछन् । गत वर्ष बैंक तथा वित्तीय संकटबारे अध्ययन गरेका तीन जना अर्थशास्त्रीहरूले नोबेल पुरस्कार पाएका थिए ।