इजरायल युद्धलाई लिएर खाडी मुलुक ध्रुवीकृत, विश्व बजारमा तेलको हाहाकार हुनसक्ने !

२२ आश्विन २०८०, सोमबार १३:४७

काठमाडौं । इजरायलमा हमास विद्रोहीले गरेको आक्रमणपछि विश्व बजारमा कच्चा तेलको मूल्य बढेको छ । विश्व बजारमा सोमबार तेलको मूल्य ४ प्रतिशतले बढेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । सोमबार प्रति ब्यारेल तेलको मूल्य दुई देखि ४ डलरसम्म बढेको छ । यस्तै, तेल निर्यात हुने प्रमुख मार्ग ‘स्ट्रेट अफ हर्मुच’ प्रभावित भएमा त्यसले थप संकट ल्याउने अड्कल गरिँदै छ ।

तेल निर्यातकर्ताहरुका लागि जुन प्रमुख मार्ग हो । आगामी दिन इजरायल हमासबीचको युुद्धको नतिजाले तेलको मूल्य निर्धारण हुने बताइएको छ । शनिबार हमास समूहले इजरायलमाथि अनपेक्षित आक्रमण गरेपछि युद्ध जारी छ । इजरायल र गाजामा गरेर हालसम्म १ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । हमासको आक्रमणमा परेर १० नेपाली विद्यार्थीको समेत मृत्यु भएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले युद्धको घोषणा गरेसँगै दशकौंको द्वन्द्व यसपटक चाँडै रोकिने सम्भावना देखिन्न । इजरायल हमास युद्धले विश्व विभाजनको थप बीउ रोप्ने अड्कल गरिएका बेला खाडीबाट निर्यात हुने तेलमा युद्धको असर पर्ने खतरा समेत औंल्याइएको छ ।

इरानले आक्रमणमा आफ्नो संलग्नता नरहेको बताए पनि हमास आक्रमणको समर्थन गरेको छ । यसलाई इरानले दशकौं देखिको उत्पीडनविरुद्धको अडाईं भनेको छ । इरानले तेल आपूर्ति बन्द गरे विश्वभर ३ प्रतिशत तेल निर्यात रोकिने प्रक्षेपण समेत गरिएको छ । कतार इजरायल र गाजामा देखिएको संघर्ष निकै गम्भीर रहेको भनिरहेको छ ।

वर्षौैँदेखि प्यालेस्टाइनीहरुको अधिकार हनन भइरहनु युद्धको प्रमुख कारण रहेको कतारको तर्क छ । उसले इजरायललाई अन्तर्राष्ट्रिय कानून पालना गर्न समेत आग्रह गरेको छ । उता, संयुक्त अरब इमिरेट्सले आक्रमण रोकेर जनधनको रक्षा गर्न भनेको छ ।

कुवेतले पनि शान्ति कायम राख्न आह्वान गरे पनि यो परिस्थितिको मुख्य जिम्मेवार इजरायल रहेको उल्लेख गरेको छ । ओमानले दुवै पक्षलाई संयम बन्न आग्रह गरेको छ भने इजिप्टमा एक जना प्रहरीले गोली प्रहार गरेर दुई इजरायली पर्यटकको हत्या गरेको अवस्था छ । छिमेकी इजिप्टले यो परिस्थितिले गम्भीर अवस्था आइलाग्ने चिन्ता जाहेर गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*