सिनर्जी पावरको अवितरित हकप्रद कात्तिक १ गतेबाट लिलाम बिक्री हुँदै
काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले कात्तिक १ गतेदेखि ५ लाख ६३ हजार २६१ कित्ता अवितरित हकप्रद शेयर लिलामी मार्फत बेच्ने भएको छ ।
कम्पनीले भदौ ३ गतेदेखि भदौ ३१ गतेसम्म २ः१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको दरले ४० लाख ३२ हजार ८५७ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो । सोमध्ये आवेदन परेको ३४ लाख ६९ हजार ६१४ कित्ता हकप्रद शेयर, असोज १६ गते बाँडफाँड सम्पन्न गरिसकेको छ । कम्पनीले बाँकी रहेको ५ लाख ६३ हजार २६१ कित्ता शेयर लिलाम बिक्री गर्न लागेको हो । सो शेयरका आवेदन दिने समय कात्तिक १५ गतेसम्म तोकिएको छ ।
शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले बोलपत्र पेश गर्दा प्रतिस्पर्धात्मक मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ । लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतमा सम्पूर्ण शेयरका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सानिमा बैंकका, हेटौँडा, नारायणगढ, विराटनगर, विर्तामोड, वीरगञ्ज, जनकपुर, बुटवल, घोराही, नेपालगञ्ज, विरेन्द्रनगर, धनगढी, महेन्द्रनगर र पोखरा बैंक शाखा कार्यालय तथा गरिमा विकास बैंकको बाग्लुङ्ग शाखा कार्यालयबाट बोलपत्र आवेदन फाराम पाउन र पेश गर्न सक्नेछन् ।