यूएईमा कार्यरत नेपाली कामदारका लागि २४ घण्टा बीमा सुविधा प्रस्ताव

११ बैशाख २०८२, बिहीबार १८:५५

काठमाडौं । संयुक्त अरब इमिरेट्स ९यूएई० मा कार्यरत नेपाली कामदारको सुरक्षालाई प्राथमिकतामा राख्दै नेपाल सरकारले २४ घण्टा बीमा सुविधा लागू गर्ने प्रस्ताव अघि सारेको छ। यस प्रस्तावलाई हालै दुबै मुलुकबीच सम्पन्न उच्चस्तरीय छलफलको एक प्रमुख एजेन्डाको रूपमा प्रस्तुत गरिएको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र यूएईका उपप्रधान तथा विदेश मन्त्री शेख अब्दुल्ला बिन जायेद अल नाह्यानबीच भएको द्विपक्षीय बैठकमा, नेपाली कामदारको हकहितसहित शिक्षा र सीप विकासमा सहकार्य गर्ने विषयमा गहन छलफल भएको थियो।

बैठकमा नेपालले यूएईमा तालिम प्राप्त नेपाली महिला घरेलु कामदारलाई सुरक्षित र व्यवस्थित रूपमा पठाउने पाइलट परियोजना अघि बढाउने प्रस्ताव राखेको छ। यसले रोजगारका नयाँ अवसर सिर्जना गर्नुका साथै महिलाको श्रम बजार पहुँचलाई सुदृढ गर्ने अपेक्षा गरिएको छ।

त्यस्तै, यूएई पछिल्लो समय अध्ययन गन्तव्यको रूपमा समेत विकसित भइरहेकाले नेपाली विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन नेपालले आग्रह गरेको छ। साथै, नेपालमै आधुनिक उपकरणसहितको तालिम केन्द्र स्थापनाका लागि यूएई सरकारको सहयोगमा भौतिक संरचना निर्माणको माग गरिएको छ।्

कामदारहरूको सामाजिक सुरक्षाका लागि सबै नेपाली कामदारलाई समेट्ने गरी २४ घण्टा बीमा सुविधा लागू गर्नेसम्बन्धी प्रस्ताव बैठकमा प्रस्तुत गरिएको थियो। त्यस्तै, विदेशबाट नेपालमा रकम पठाउँदा लाग्ने उच्च शुल्क घटाउन समेत नेपालले आग्रह राखेको छ।्

यसबाहेक, यूएईका विभिन्न कम्पनीहरूले आफ्ना कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाली कामदारहरूका लागि स्वास्थ्य तथा शिक्षा क्षेत्रमा लगानी गर्न इच्छा व्यक्त गरेका छन्। यसले वैदेशिक रोजगारलाई समावेशी, सुरक्षित र दीगो बनाउने नेपालको दीर्घकालीन योजनालाई टेवा पुर्‍याउने विश्वास
गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*