४० वर्ष नकटेका हजारौं युवाहरुको भिडमा ७३ वर्षिय बुढो व्यक्ति !

११ बैशाख २०८२, बिहीबार १८:३०

काठमाडौँ ।  काठमाडौंको भृकुटीमण्डपमा आजको दिन दृश्य केही फरक थियो । युवाहरूको उत्साह, गीत–सङ्गीत, रङ्गीन झण्डा र नाराको गुञ्जयमानले राजधानीको मुटु नै थर्किएको जस्तो लाग्थ्यो । आयोजक एमालेले यसको नाम राखेको थियो—‘यूथ सेलिब्रेसन’ । लोकतन्त्र दिवसको सन्दर्भमा आयोजित यस कार्यक्रममा करिब १ लाख युवालाई सडकमै ल्याउने महाअभियान थियो, यद्यपि आँकडाले देखाउँछ, त्यसको पाँचौँ भाग मात्रै उपस्थित भए २०–२५ हजार हाराहारीका युवा । तर, भीडले उमंग गुमाएको थिएन । त्यसभीडको बिचबाट जब एउटै आकृति सतहमा आयो, सबका आँखाले भिन्नता टिप्न थाल्यो—७३ वर्ष पार गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिले ।

कसैले पत्याएनन्, बृद्दोत्तरसँगै बर्दास्तको सीमा घट्दै जान्छ भन्ने विज्ञानलाई उल्ट्याउँदै, एक वृद्ध युवा झैं रमाइरहेका थिए । हो, त्यो दृश्य व्यंग्य थियो कि उत्सव ? त्यो बहसको बिषय हुनसक्ला तर आँखाले देखिरहेको दृश्य भने साँच्चै चाखलाग्दो थियो—जब युवाहरु नारा लगाइरहेका थिए ‘नयाँ नेतृत्व चाहिन्छ’, अनि उही मञ्चमा ७३ वर्षीय ‘युवानायक’ हाँस्दै हात हल्लाइरहेका थिए ।

जसरी दौरा सुरुवाल लगाएर कुनै स्कुले छात्र मञ्चमा कविता वाचन गर्न आउँछ, उस्तै उत्साहसहित ओली मञ्चमा देखा परे । उनको अनुहारमा थकान थिएन, बरु गर्व थियो । गर्व, किनकि उनले अझैपनि हजारौं युवाहरुलाई उभ्याउन सक्ने शक्ति राख्थे । उनको उर्जामा अभाव थिएन, तर प्रश्न उठ्दै थियो—यो उमेरमा पनि ‘युवा नेता’ कहलिनु कसरी ?

दृष्यपटलमा हेर्दा कार्यक्रम रमाइलो थियो । स्टेजमा ब्याण्डहरूले चिच्याउँदै गीत गाइरहेका थिए, युवा हातमा झण्डा लिएर दौडिरहेका थिए । कतै सेल्फी, कतै टिकटक । युवाको भाषा, शैली र रवैयामा नयाँ नेपालको सपना देख्न सकिन्थ्यो । तर, यो सपनाको नेतृत्व गर्ने भनिएका पात्र भने पुरानै थिए । त्यो समयको स्मृति झल्काउँथे, जब झोलामा चामल, काँधमा बन्दुक बोकेर हिँड्थे । तर आज उनी थिए-सूटमा सजिएका अनि ‘नयाँ पुस्तालाई आशिर्वाद’ दिइरहेका ।

नेतृत्वको थालमा बारम्बार सोधिन्छ-के नेपाली राजनीतिमा उमेरको गणित कहिल्यै मिल्दैन ? किन ‘युवा नेतृत्व’ को नाममा सधैँ वृद्धको अनुहार देखिन्छ ? यो कार्यक्रमले त्यही पुरानै प्रश्न दोहो¥याएको थियो । जब युवाले सडक भर्न खोजे, नेताले त्यसलाई आफ्नो शक्ति प्रदर्शनको मञ्च बनाइदिए ।

एउटा पात्रको स्मृति आउँछ-जनकपुरको रामजी । जसले एकदिन चिया पसलमा भनेका थिए, ‘नेतृत्व भनेको गाडी हो, चालक जो सुकै होस्, दिशा त गन्तव्यले दिनुपर्छ ।’ आज भृकुटीमण्डपको दृश्य हेर्दा लाग्यो-चालक अझै उही पुरानै, तर यात्रु फेरिएका छन् । यात्रु ति युवा हुन्, जो स्वप्न बोकेर सडकमा उत्रेका छन् ।

७३ वर्षीय ओली कार्यक्रम स्थलमा जब पुगे, एकछिन लाग्यो-‘युवा ¥यालीमा वृद्ध मानिस’ शीर्षक कुनै नाटक हेरिरहेका छौं कि ? तर त्यो नाटक थिएन, त्यो हाम्रो देशको यथार्थ थियो ।

नेपालको राजनीतिमा ‘युवा’ शब्द धेरैपटक प्रयोग हुन्छ, तर त्यस्को परिभाषा कहिल्यै स्पष्ट हुँदैन । ४० नकटेका मान्छे ‘युवा’ हुन् भनेर कार्यक्रम गरिन्छ, तर नेतृत्व लिन आउने चाहिँ ७० नाघेका हुन्छन् । ४० कटेका युवाहरुलाई ‘नेता बन्न कम उमेर भएको’ भनिन्छ, तर ७० कटेका नेताहरु ‘अनुभवले भरिएका’ भनेर अघि सारिन्छन् ।

यो विरोधाभाषको देश हो । जहाँ सवारी चालक अनुमतिपत्र लिन १८ वर्ष लाग्छ, तर पार्टीको अध्यक्ष बन्न कुनै उमेर सिमा छैन । जहाँ प्रधानमन्त्री बन्न २५ वर्षको उमेर पुग्नुपर्छ भन्ने संवैधानिक व्यवस्था छ, तर त्यो कुर्सीमा ७५ वर्षीय मान्छे बस्दा कोही प्रश्न गर्दैन ।

आज युवाहरुले ओलिलाई स्वागत गरे, उनका भाषणमा तालि बजाए । शायद उनीहरुको सोच थियो-‘कुन दिन हामी पनि यस्तो मञ्चमा पुग्न सक्छौं ।’ तर त्यो मञ्चमा पुग्न कुन बाटो हिँड्नुपर्छ ? कुन उमेरमा नेता बन्ने मौका पाइन्छ ? यी प्रश्न भने उनीहरुका अनुहारमा अस्पष्ट देखिन्थे ।

राजनीतिमा युवा भन्नाले जोश बुझिन्छ, तर नेपालमा युवा भन्नाले ’कार्यकर्ता’ बुझिन्छ, नेता होइन । नेता भन्नाले ’अनुभव’ बुझिन्छ, जुन केवल उमेरले मात्र आउँछ भन्ने धारणा स्थापित गरिएको छ ।

आजको कार्यक्रममा भाग लिएका युवाहरुको अनुहार हेर्दा लाग्थ्यो-उनीहरु सोच्दै छन्, त्यो मञ्च एकदिन आफ्नो हुनेछ । तर त्यो मञ्च आज ओलीको थियो । हुन पनि, नेपालको राजनीति त्यो वृक्ष जस्तै भएको छ जसको जरामा पुरानो माटो छ, र हरेक नयाँ हाँगा उम्रिन खोज्दा त्यो माटोले थिचिदिन्छ । परिवर्तनको भाषण दिनेमध्ये धेरै आफैं परिवर्तन हुन डराउँछन् । ‘युवा शक्ति नै परिवर्तनको वाहक हो’ भन्ने नाराको उपयोग, पुराना नेताहरुले आफ्नै सत्ताको बिमा गर्न गर्छन् ।

कसैले भनेका थिए-‘कहिलेकाहीँ क्रान्ति भीडले होइन, एउटा अनुहारले गर्छ ।’ तर त्यो अनुहार सधैं नयाँ हुनु पर्छ भन्ने छैन । तर सधैं उही अनुहार हुनु पर्छ भन्ने पनि होइन।

नेपालको राजनीतिमा अहिले नयाँ अनुहारको खडेरी परेको छ । आजका कार्यक्रममा भाग लिएका अधिकांश युवाहरुले नेताको अनुहारभन्दा बढी आफ्नो ‘रिल्स’ बनाउन व्यस्त थिए । त्यो रमाइलो थियो, तर सोच्नुपर्ने कुरा पनि थियो-के हामी आन्दोलन गर्न सडकमा आएका थियौं ? कि सेलिब्रेशन मात्र गर्न ?

यसमा राजनीति, सौन्दर्य र व्यंग्य तीनै मिसिएको थियो । कार्यक्रम स्थलमा कोही पानिपुरी–चटपटे बेचिरहेका थिए, कोही चाउचाउ अनि कोही नारामा रमाइरहेका थिए । लोकतन्त्रको उत्सव हो भन्ने भाव थियो, तर सत्ता पक्षको प्रदर्शनको यो कार्यक्रम एक राजनीतिक नाटक पनि थियो, जसको शीर्षक यथार्थमै आधारित थियो—‘७३ वर्षीय बुढो व्यक्ति युवाको भिडमा’।

के यो हाम्रो पुस्ताले भोग्नुपर्ने नियति हो ? कि परिवर्तनको थालो यही भिडबाट सुरु हुन्छ ? त्यो अझै खुल्न बाँकी छ । तर आजको दिनले एउटा कुरा भने पक्का गरिदिएको छ-नेपाली राजनीतिमा उमेर सधैं एक पक्षीय गणना हो, जहाँ शक्ति सधैं वृद्धको हुन्छ, र सपना सधैं युवाको ।

त्यसैले त होला, ७३ वर्षिय व्यक्ति युवाको भिडमा देखिँदा हाँसो पनि उठ्छ, आशा पनि जाग्छ, अनि प्रश्न पनि जन्मन्छ—‘यत्रो भिडमा एक जना मात्र किन ?’ किनकि त्यो एक जना, शक्ति हो । अनि त्यो भिड, सम्भावना ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*