गभर्नर नियुक्तिमा २० करोडको डिल भयोः महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले ठेकेदार कान्छाराम उर्फ पूर्णबहादुरमाथि गम्भीर आरोप लगाउँदै सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीको कदमको समर्थन गरेका छन्। उनले फेसबुकमा लेख्दै ठेकेदार कान्छारामलाई ‘सेटिङ र भ्रष्टाचारको पर्याय’ को रूपमा चित्रण गरेका छन्।
बस्नेतका अनुसार कान्छारामको नाममा २० भन्दा बढी योजना कालोसूचीमा परेका छन् र उनले ठेक्कापट्टा सेटिङमार्फत हात पारेर अधिकांश काम अधुरो राखेका छन्। उनले ऊर्जा राज्यमन्त्रीको आडमा आफूलाई ‘कुलमान जोगाएको’ भन्ने नाटक गर्दै अर्बौं रुपैयाँ बराबरका ठेक्कामा अनियमितता गरेको आरोपसमेत लगाएका छन्। बस्नेतले आरोप लगाउँदै लेखेका छन्, ‘कुलमानसँग मिलेर अर्बौंको ठेक्कापट्टा सेटिङमा पार्ने, अनि राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि २० करोड रुपैयाँको डिल गरेको प्रमाण भेटिएपछि प्रधानमन्त्रीज्यूले बर्खास्त गर्नुभयो।’
उनले कान्छारामलाई भ्रष्टाचारको जड ठहर गर्दै अहिले प्रधानमन्त्रीविरुद्ध अनावश्यक आरोप लगाएर मिडियामा नौटंकी गरिरहेको बताएका छन्। साथै उनले एमालेकै कतिपय नेतामाथि पनि व्यंग्य गर्दै लेखेका छन्, ‘एमालेको पङ्क्तिको हातमा पनि दही जमेर बसेको छैन।’
पूर्वमन्त्री बस्नेतले अब भ्रष्ट र बेइमानहरूको पर्दाफास गर्ने समय आएको भन्दै प्रधानमन्त्रीको ‘इमान्दार नेतृत्व र युवा पुनर्निर्माणको’ पक्षमा उभिन सबैलाई आह्वान गरेका छन्। उनले अन्त्यमा लेखेका छन्, ‘साथ दिऊँ, परि आए ज्यान दिऊँ।’