ट्रम्पको चीनसँगको व्यापार युद्धमा लचकता : ‘महसुल धेरै घट्नेछ तर शून्य हुने छैन’

१० बैशाख २०८२, बुधबार १७:३१

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको व्यापार युद्धमा केही लचक देखाउने संकेत दिएका छन् । निरन्तर बजार अस्थिरताबीच ट्रम्पले चिनियाँ सामानमा लगाइएको उच्च महसुल ‘धेरै घट्नेछ, तर शून्य भने हुने छैन’ भन्दै पछिल्लो धारणा सार्वजनिक गरेका हुन् ।

ह्वाइट हाउसमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले बोलेका यी शब्दहरू अघिल्लो केही सातादेखिको कठोर अडान र दोहोरो प्रत्युत्तरात्मक कारबाहीपछि आएको भाषिक परिवर्तनका रूपमा देखिएको छ, जसका कारण चीनमाथि लगाइएको महसुल दर १४५ प्रतिशतसम्म पुगेको थियो । ‘१४५  प्रतिशत निकै उच्च हो र त्यो यति उच्च रहने छैन ट्रम्पले ओभल अफिसमा सञ्चारकर्मीहरूसँगको संवादमा भने, ‘त्यो धेरै घट्नेछ, तर शून्य हुने छैन ।’

ट्रम्पले यो टिप्पणी अमेरिकी वित्तमन्त्री स्कट बेसन्टको भनाइबारे सोधिएको प्रश्नको उत्तर दिँदै गरेका थिए । बेसन्टले मंगलबार जेपी मोर्गन चेसद्वारा आयोजना गरिएको निजी लगानी सम्मेलनमा अमेरिकी-चिनियाँ उच्च महसुलका कारण दुई देशबीचको व्यापार लगभग बन्दप्रायः भएको बताएका थिए ।

बुधबार चीनको विदेश मन्त्रालयले ट्रम्प र बेसन्टको टिप्पणीबारे प्रतिक्रिया दिँदै, अमेरिका ‘धम्की र दबाबको नीति त्यागेर समानता, आपसी सम्मान र पारस्परिकता’ को आधारमा चीनसँग व्यवहार गर्नुपर्ने बतायो ।

मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले पत्रकार सम्मेलनमा भने, ‘चीनसँग सम्झौता गर्न चाहन्छु भनेर बारम्बार अधिकतम दबाब सिर्जना गर्नु उचित तरीका होइन – यो कार्ययोजना सफल हुने छैन ।’

उनले थपे, ‘अमेरिकाले थालनी गरेको महसुल युद्धमा चीनको स्थिति स्पष्ट छ – हामी लड्न चाहँदैनौं, तर लड्न डराउँदैनौं । यदि लड्ने हो भने अन्तसम्म लड्नेछौं, र यदि कुराकानी गर्ने हो भने, हाम्रो ढोका सधैँ खुला छ ।’

ट्रम्पको भनाइ चिनियाँ सामाजिक सञ्जालमा समेत भाइरल बनेको छ । बुधबार ‘ट्रम्प पछि हटे’ भन्ने ह्यासट्याग चीनको वेइबो प्लेटफर्ममा शीर्ष ट्रेन्डिङ विषय बनेको थियो, जसले १५ करोडभन्दा बढी भ्युज पाएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*