लक्जरी सवारीको दौडमा बिवाईडी, डेनजा ‘जेड’ मोडेलमार्फत पश्चिमी ब्रान्डलाई चुनौती

काठमाडौँ । चिनियाँ विद्युतीय सवारी साधन निर्माता बिवाईडीले विश्वव्यापी बिक्रीमा पुरानो प्रतिस्पर्धी टेस्लालाई पछि पारिसकेको छ। अब कम्पनीको नजर उच्चस्तरीय लक्जरी सवारी बजारमा केन्द्रित भएको देखिन्छ। बिवाईडीको प्रिमियम ब्रान्ड डेनजाले चीनको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी अटो साङ्घाई मा बुधबार ‘जेड’ मोडेल सार्वजनिक गरेको हो। चम्किलो गाढा निलो रङमा सार्वजनिक गरिएको यस सवारीले बिवाईडीको पोर्श र मर्सिडिजजस्ता पश्चिमी लक्जरी ब्रान्डहरूसँग प्रतिस्पर्धा गर्ने महत्त्वाकांक्षा देखाएको छ।
प्रदर्शनस्थलमा ‘डेनजा जेड’ कालो कभरले ढाकिएको अवस्थामा प्रस्तुत गरिएको थियो। बिवाईडीका संस्थापक र चीनका चर्चित उद्यमी वाङ छुवानफु पनि उक्त मोडेल नजिकै देखिएका थिए। यस १०-दिने अटो शोमा चिनियाँ तथा विदेशी कार निर्माता कम्पनीहरूले आफ्नो नवीनतम प्रविधि प्रदर्शन गर्दै नयाँ मोडेल घोषणा गरेका छन्। प्रदर्शनीले चीनको द्रुत गतिमा बढिरहेको विद्युतीय सवारी उद्योगको प्रविधि र प्रतिस्पर्धात्मकता उजागर गरिरहेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा कार आयातको शुल्कका कारण विश्वव्यापी अटो उद्योग तनावमा रहेको बेला चीनको ईभी क्षेत्र नयाँ अवसरको केन्द्र बन्दै गएको छ। यसैबीच, धेरै विदेशी कम्पनीहरूले साझेदारी बलियो पार्दै चिनियाँ बजारमा पुरानो दबदबा फर्काउने प्रयास गरिरहेका छन्। बिवाईडी चीनको विद्युतीय सवारी बजारको स्पष्ट अगुवा हो। कम्पनीले टेस्लालाई पछाडि पार्दै सन् २०२४ मा विश्वव्यापी रूपमा सबैभन्दा बढी विद्युतीय सवारी बेच्न सफल भएको थियो। हाल बिवाईडीको सवारी साधनहरू मध्ये ठूलो भाग चिनियाँ बजारमै बिक्री हुन्छन्।
यता, टेस्लाले भने गत तेस्रो त्रैमासिकमा आम्दानीमा अपेक्षाभन्दा बढी गिरावट भोगेको छ। अमेरिकी बजारमा ट्रम्पको व्यापार युद्ध र प्रमुख कार्यकारी एलन मस्कप्रति उपभोक्ताको असन्तुष्टिका कारण टेस्लाको कुल बिक्री ९% ले घटेको छ भने कार बिक्री मात्रै २०% ले घटेको छ।
डेनजाको नाइन मोडेल (एन९) को सुरुवाती मूल्य ३८९,८०० युआन (झण्डै ५३,४५३ अमेरिकी डलर) छ भने बिवाईडीको लोकप्रिय ‘सङ प्लस’ एसयूभीको मूल्य करिब १८,५०० डलरबाट सुरु हुन्छ।
बिवाईडीको अर्को लक्जरी ब्रान्ड ‘याङवाङ’ पनि १ मिलियन युआन (करिब १ लाख ३७ हजार डलर) मूल्यको सवारी बजारमा प्रतिस्पर्धा गर्दैछ। यस ब्रान्डले हालै आफ्नो १०,००० औं सवारी बिक्री गरेको घोषणा गरेको थियो। याङवाङको नयाँ मोडेल ‘यू८एल’ एसयूभी पनि यही प्रदर्शनीमा सार्वजनिक गरिएको हो।
यसैबीच, बिवाईडीले “गड्स आइ” नामक अत्याधुनिक ड्राइभर सहायक प्रविधि सार्वजनिक गरेको छ जुन टेस्लाको ‘फुल सेल्फ ड्राइभिङ’ सुविधासँग प्रतिस्पर्धा गर्न सक्ने दाबी गरिएको छ। यो प्रविधि चीनमा अधिकांश बिवाईडी कारहरूमा निःशुल्क उपलब्ध हुनेछ। कम्पनीले गत महिना ५ मिनेटको चार्जमा २५० माइल दायरा दिनसक्ने ब्याट्री प्रविधि पनि सार्वजनिक गरेको छ, जसले टेस्लाको सुपरचार्जरलाई पनि पछि पार्ने दाबी गरिएको छ।
हालै चीनकै अर्को प्रमुख ब्याट्री निर्माता कम्पनी सीएटीएलले ३२० माइलको दायरा दिने ब्याट्री प्रविधि सार्वजनिक गरेर प्रतिस्पर्धालाई अझ चर्काएको छ। बिवाईडीले २०२५ मा चीन बाहिर ८ लाखभन्दा बढी गाडी बेच्ने लक्ष्य राखेको छ। कम्पनीले स्थानिय उत्पादन र कम लागतमा आधारित रणनीतिमा जोड दिँदै आएको छ। यसैबारे कम्पनीका अध्यक्षले अघिल्लो महिनाको अर्निङ कलमा जानकारी दिएका थिए।
सन् २०२४ मा कम्पनीले ४२.७ लाख नयाँ ऊर्जा सवारी (विद्युतीय र हाइब्रिड) बेचेर १०७ अर्ब डलरको राजस्व आर्जन गरेको थियो, जुन अघिल्लो वर्षभन्दा २९% बढी हो।