अवरुद्ध सिमेन्ट निर्यात फेरि खुल्यो, भारतीय बजारमा पुनः जम्दै नेपाली ब्रान्ड

April 23rd, 2025

काठमाडौँ । नेपालको अर्थतन्त्रको समग्र स्वास्थ्य हेर्दा लामो समयदेखि देखिँदै आएको एउटा स्थायी घाउ हो – व्यापार घाटा । देशले आयात गरेभन्दा निर्यात अत्यन्तै कम हुँदा यो घाटा हरेक वर्ष बढ्दो छ । यस्तो अवस्थामा नेपाली सिमेन्ट उद्योग भने निस्पृह तर प्रभावकारी रुपमा व्यापार घाटामा मलम लगाउने ‘गुमनाम नायक’का रुपमा उभिएको छ ।

नेपालको सिमेन्ट निर्यात पछिल्लो केही महिना ‘ब्यूरो अफ इन्डियन स्टान्डर्ड’ (बीआईएस) प्रमाणपत्रको नवीकरण नहुँदा केहि सुस्त रहेको थियो । बीआईएस नविकरण भएसँगै पुनः सिमेन्ट निर्यातले लय समाति रहेको छ । २०८१ सालको चैत महिनामात्र हेर्ने हो भने नेपालले भारतमा २४ करोड ३८ लाख रुपैयाँको सिमेन्ट र क्लिंकर निर्यात गरेको तथ्यांक भन्सार विभागले सार्वजनिक गरेको छ । सो अवधिमा कुल ३५ हजार ४५५ मेट्रिक टन सिमेन्ट भारत पठाइएको हो ।

चालु आर्थिक वर्षको ७ महिना (साउनदेखि चैत) मा नेपालले कुल २ अर्ब १९ करोड रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर भारत निर्यात गरिसकेको छ । यामध्ये १ अर्ब ५५ करोड १३ लाख ९० हजार रुपैयाँ बराबरको ७ लाख ५५ हजार ६ सय ४३ मेट्रिक टन सिमेन्ट र ६४ करोड २० लाख ६६ हजार रुपैयाँ बराबरको ४ लाख ८० हजार ७ सय ९४ मेट्रिक टन क्लिंकर भारत पठाइएको हो ।

बीआईएस प्रमाणपत्रको नवीकरणमा भारत सरकारले ढिलाइ गर्दा केही महिना सिमेन्ट निर्यात ठप्पजस्तै बनेको थियो । पछिल्लो समय नेपालको निरन्तर दबाब पछि केही सिमेन्ट कम्पनीको बीआईएस नवीकरण भइसकेको छ भने केहि प्रक्रियामा नै रहेको छ। यो बीआईएस प्रणाली भारतको बजारमा बिक्री हुने वस्तुमा अनिवार्य बनाइएको हो, जसको कारण नेपाली उद्योगहरूलाई आफ्नो उत्पादन निर्यात गर्न कडाइका साथ प्रमाणपत्र लिनुपर्ने हुन्छ । प्रमाणपत्र नवीकरणमा ढिलाइ हुँदा नेपाली सिमेन्ट उद्योगले झण्डै पाँच महिनासम्म बजार गुमाएको थियो । तर उद्योगीहरूको निरन्तरको पहल र सरकारी निकायको जोडबढपछिअन्ततः भारतको सकारात्मक जवाफले निर्माण सामग्रीको व्यापार फेरि गतिमा आएको हो ।

नेपालमा सिमेन्टको प्रसस्त सम्भावना रहेको छ । जसमा प्रमुख योगदान चुनढुंगा खानीहरूको विकासले दिएको छ । पहिले उद्योगीहरू क्लिंकर भारतबाट आयात गर्थे, तर खानी तथा भूगर्भ विभागले लाइसेन्स जारी गरेपछि नेपालमै क्लिंकर उत्पादन हुन थाल्यो । यसले सिमेन्ट उत्पादनलाई आत्मनिर्भर बनायो र उत्पादन लागत पनि घट्यो ।

हाल अर्घाखाँची मुख्यतः सिमेन्ट, सर्वोत्तम सिमेन्ट, पाल्पा सिमेन्टलगायतका उद्योगहरूले भारतको सीमावर्ती बजारमा आफ्नो उपस्थिति बढाउँदै लगेका छन् । भारतीय बजारमा प्रतिस्पर्धी मूल्यमा सिमेन्ट उपलब्ध गराउनु, भित्ते विज्ञापनमार्फत ब्राण्ड प्रवर्धन गर्नु र स्थानीय च्यानल पार्टनरहरूसँग सहकार्य गर्नुले गर्दा उनीहरू भारतको बजारमा पुनः जमिन खोज्न सफल भएका छन् ।

नेपाल सरकारले पनि निर्यात प्रवद्र्धन गर्न उद्योगहरूलाई प्रोत्साहन दिने खालका नीति लागू गरिरहेको छ । स्वदेशी वस्तु निर्यात गर्ने उद्योगलाई आठ प्रतिशतसम्म नगद अनुदान दिइनेछ भने १० करोड रुपैयाँभन्दा बढी विद्युत खपत गर्ने उद्योगहरूलाई महसुलमा १५ प्रतिशतसम्म छुट दिइने व्यवस्था गरिएको छ । यस्तो प्रोत्साहनले गर्दा उद्योगहरू थप प्रतिस्पर्धी बढ्दो क्रममा रहेको छ।

सिमेन्ट उद्योगको यो उपलब्धिले नेपाललाई केही हदसम्म व्यापार घाटा न्यूनीकरणतर्फ डोरÞ्याएको छ । कुल निर्यातमा सिमेन्टको योगदान उल्लेखनीय मात्रामा देखिन थालेको छ । अहिलेको सन्दर्भमा जहाँ देश आर्थिक रूपमा चुनौतीपूर्ण मोडमा उभिएको छ, सिमेन्ट उद्योगले देखाएको मार्ग अन्य क्षेत्रका उद्योगहरूका लागि पनि उत्प्रेरणाको स्रोत बन्न भन्दै गएको छ ।

भारतीय बजारमा प्रतिस्पर्धा गर्दै, नीतिगत चुनौती पार गर्दै, आफ्नै स्रोत र प्रविधिमा आधारित भएर अघि बढिरहेको नेपाली सिमेन्ट उद्योग वास्तवमै व्यापार घाटालाई कम गर्नेतर्फ देशको एक सक्षम साझेदार बनेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*