राष्ट्रिय स्तरका विकास बैंकको लाभांश: कामना र मुक्तिनाथले लगानीकर्ता मख्ख बनाउन सक्ने, अन्य कुनको क्षमता कति?

काठमाडौँ । राष्ट्रिय स्तरका विकास बैंकको लाभांश क्षमतामा सुधार भएको देखिएको छ । चालु आर्थिक वर्ष २०८१।०८२ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार अधिकांश बैंकहरुको औसत लाभांश क्षमता वृद्धि भएको हो ।
चालु आवको चैत मसान्तसम्ममा ८ राष्ट्रिय स्तरका विकास बैंकको औसत लाभांश क्षमता ४.५७ प्रतिशत रहेको छ । गत आर्थिक वर्ष २०८०।०८१ को तेस्रो त्रैमासमा बैंकहरुको औसत लाभांश क्षमता १.०८ प्रतिशत मात्रै थियो ।
विकास बैंकको नाफा ४.३५ प्रतिशत बढेर ३ अर्ब ६९ करोड २७ लाख रुपैयाँ पुगेसँगै लाभांश क्षमतामा समेत सुधार देखिएको छ । अधिकांश बैंकको लाभांश क्षमता सकारात्मक देखिदा ज्योति विकास बैंकको ऋणत्मक रहेको छ । बैंकको वितरणयोग्य नाफा ५६ करोड ८७ लाख ७६ हजार रुपैयाँ ऋणात्मक छ । बैंकको चुक्ता पुँजी ४ अर्ब ३९ करोड ५७ लाख रुपैयाँ छ । जस आधारमा बैंकको लाभांश क्षमता १२.९४ प्रतिशत ऋणात्मक छ ।
लगानीकर्तालाई मख्ख बनाउन सक्नेमा कामना सेवा विकास बैंक पहिलो नम्बरमा रहेको छ । कम्पनीले हाल कायम रहेको चुक्तापूँजी ३ अर्ब ५१ करोड ८ लाखको १४.२३ प्रतिशत लाभांश दिन सक्ने देखिएको छ । बैंकको वितरणयोग्य नाफा ४९ करोड ९८ लाख ५९ हजार रुपैयाँ रहेको छ ।
यस्तै, मुक्तिनाथ विकास बैंक पनि विकास बैंकमा सर्वाधिक लाभांश दिन सक्ने बैंकको दोस्रो नम्बर सूचीमा रहेको छ । मुक्तिनाथले ८.७९ प्रतिशत लाभांश दिन सक्ने देखिएको छ । बैंकको वितरणयोग्य नाफा ६१ करोड ९५ लाख रुपैयाँ रहेको छ ।
समिक्षा अवधिमा ४ अर्ब ८७ लाख रुपैयाँ चुक्तापूँजी र ३८ करोड ७१ लाख रुपैयाँ वितरणयोग्य नाफा रहेको शाइन रेसुङ्गाले ७.९४ प्रतिशत लाभांश दिन सक्ने छ ।
साथै, सांग्रिला डेभलपमेन्टको ६.७५ प्रतिशत, गरिमा विकासको ६.१७ प्रतिशत, महालक्ष्मी विकासको ३.८ प्रतिशत छ । सांग्रिलाको वितरणयोग्य नाफा २४ करोड २ लाख, गरिमाको ३५ करोड ४ लाख र महालक्ष्मीको १६ करोड ३४ लाख रुपैयाँ रहेको छ ।
लुम्बिनी विकास भने लाभांश दिन सक्ने क्षमतामा कमजोर रहेको छ । बैंकले झिनो ०.०१ प्रतिशत मात्रै लाभांश क्षमता रहेको छ । लुम्बिनीको वितरणयोग्य नाफा ४ लाख ८० हजार रुपैयाँ मात्रै रहेको छ ।