डोटीमा मिनि ट्रक दुर्घटनाः तीन जनाको ज्यान गयो

काठमाडौँ । डोटी जिल्लाको जोरायल गाउँपालिका–१ गोल्डेनमा बुधबार बिहान भएको एक सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ। धनगढीबाट बझाङतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेशको नम्बर प्लेट (०१–००१ ख ३४२८) रहेको खाद्यान्न तथा खुद्रा सामग्री लोड गरिएको मिनि ट्रक बिहान ६ बजेर ५ मिनेटको समयमा भीमदत्त राजमार्ग खण्डमा दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार ट्रक अनियन्त्रित भई सडकबाट झण्डै ५० मिटर तल खस्दा चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको हो। ज्यान गुमाउनेमा बझाङको बुङ्गल नगरपालिका–२ का ३३ वर्षीय चालक अर्जुन धामी, ३४ वर्षीय उज्वल जाग्री र ४० वर्षीय जगत धामी रहेका छन्।
घटनास्थलमा सुरक्षाकर्मीको टोली पुगेर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ। प्रारम्भिक विवरणअनुसार तीव्र गति र तीव्र घुम्तीको कारण सवारी साधन अनियन्त्रित भएको हुन सक्ने आशंका गरिएको छ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।