विद्यालय निर्माणको बिल पास गर्न ६५ हजार ‘घुस लिने’ प्रधानाध्यापक भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं । नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिका–५ मा रहेको राजनारायण माध्यमिक विद्यालयको निर्माणको अन्तिम बिल पास गर्न सेवाग्राहीसँग घुस लिएको आरोपमा विद्यालयका तत्कालीन प्रधानाध्यापक रेशमराज कँडेल र विद्यालय सञ्चालक समितिका सदस्य सुरेन्द्र कहार विशेष अदालतबाट दोषी ठहर भएका छन्।
विद्यालय निर्माणपछि ठेकेदारले बिल भुक्तानी लिनुपर्ने प्रक्रियामा उनीहरूले नगद रकम मागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगरानी राख्दै उनीहरूलाई रंगेहात समातेको थियो। आयोगले २०८१ साल माघ २० गते कँडेल, कहार र विद्यालयका सहायक लेखापाल सुरेश गुप्ताविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
मंगलबार विशेष अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राई, मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले प्रधानाध्यापक कँडेल र सदस्य कहारलाई दोषी ठहर गर्दै फैसला सुनाएको हो। सहायक लेखापाल गुप्तालाई भने पर्याप्त प्रमाण नपुगेको भन्दै सफाइ दिइएको छ।
घटनाको विवरण अनुसार, विद्यालय भवन निर्माण सम्पन्न भएपछि अन्तिम किस्ताको भुक्तानी लिन आएका सेवाग्राहीसँग कँडेल र कहारले ६५ हजार रुपैयाँ मागेका थिए। रकम लिँदै गरेका बेला उनीहरू पक्राउ परेका थिए। आयोगले सुरेन्द्र कहारको खल्तीबाट १५ हजार रुपैयाँ र लेखापाल गुप्ताको कार्यकक्षमा रहेको टेबुलनजिकैबाट थप ५० हजार रुपैयाँ बरामद गरिएको जानकारी दिएको छ।
यद्यपि, गुप्ताको संलग्नता स्पष्ट नदेखिएपछि अदालतले उनलाई सफाइ दिएको हो। गुप्ताको सहमतिमा घुस रकम राखिएको पुष्टि नहुँदा उनलाई दोषमुक्त गराइएको विशेष अदालतको फैसलामा उल्लेख छ।