नेशनल लाइफका अभिकर्ता र कर्मचारीबाट बिरामी बालक सायनको उपचारका लागि देशभर सहयोग संकलन

April 22nd, 2025

काठमाडौँ । तनहुँको शुक्लागण्डकी–७ का ७ वर्षीय सायन खत्रीको उपचार सहयोगका रकम संकलन भएको छ । नेशनल लाइफका अभिकर्ता, कर्मचारीहरू तथा अन्य कम्पनीका अभिकर्ता र सर्वसाधारणले देशभरबाट संकलन गरेको रकम सायनको परिवारलाई बैशाख ५ गते हस्तान्तरण गरिएको हो ।

बोनम्यारोमा गम्भीर समस्या देखिएपछि उपचारमा कठिनाइ भोगिरहेका सायनको परिवारलाई दुलेगौंडा शाखाका इन्चार्ज छविलाल पौडेलको उपस्थितिमा सहयोग रकम प्रदान गरिएको हो । दुलेगौंडा शाखाबाट सिनियर बिजनेस म्यानेजर (एजेन्सी) निर्मला अधिकारीको अग्रसरतामा सहयोग संकलन गरिएको थियो । देशभरबाट ४८ जनाबाट संकलन गरिएको ५१ हजार ६९३ रुपैयाँ हस्तान्तरण गरिएको हो ।

सायनका बुवा ध्रुब खत्रीले उपचार खर्च अभावका कारण मिडियामार्फत सहयोगको अपिल गरेपछि सामाजिक उत्तरदायित्वको अनुभूति गर्दै नेशनल लाइफका विभिन्न शाखाका अभिकर्ता तथा कर्मचारीहरूले आ–आफ्नो नास्ता खर्च कटौती गरेर सहयोग रकम एकत्रित गरेका थिए । सायनको प्रारम्भिक उपचार काठमाडौंका अस्पतालमा गरिए पनि स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि भारत लैजानुपर्ने अवस्था आएको थियो । सहयोग रकम सायनकी आमा सोगिता थापा खत्रीलाई हस्तान्तरण गरिएको हो । उनी आफैँ पनि नेशनल लाइफ दुलेगौंडा शाखामा अभिकर्ताका रूपमा कार्यरत छन् ।

कम्पनीका कर्मचारीहरूको सक्रियता र सहानुभूतिको भावनाले संकटमा परेको खत्री परिवारलाई ठूलो राहत प्रदान गरेको छ । साथै, अभिकर्ताहरूको यस्तो सामाजिक योगदानले बीमा व्यवसायसँगै मानवता पनि जोडिएको उदाहरण प्रस्तुत गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*