लगातार तेस्रो दिन पनि घट्यो बजारः लगानीकर्ता अझै अनिश्चित, किन देखिएन गति ?

काठमाडौँ । नेपाली शेयर बजार लगातार तेस्रो दिन ओरालो लागेको छ । नेप्से सूचक २७ सयको मनोवैज्ञानिक बिन्दु पार गर्न नसक्दा बजारले नयाँ दिशा लिन सकेको छैन । बजार स्थिर अवस्थामा घुमिरहँदा अल्पकालीन लाभ लिने लगानीकर्ताको मनोवृत्तिले समग्र कारोबारमा उत्साह थप्न सकेको छैन ।
शेयर बजारमा स्थायित्व नआउनुको पछाडि राजनीतिक अस्थिरता, गभर्नर नियुक्तिमा देखिएको अन्योल तथा ब्रोकर सेवा ग्रामीण तहसम्म नपुगेको अवस्थालाई मुख्य कारण मानिएको छ । बजार विस्तारको सम्भावना हुँदाहुँदै पनि आधारभूत पूर्वाधारको अभावले गर्दा नवप्रवेशी लगानीकर्ता आकर्षित हुन सकेका छैनन् । त्यसैगरी, शेयर शिक्षाको कमी र दीर्घकालीन विश्वासको अभावले लगानीकर्तामा अनिश्चितता देखिएको छ ।
नेपाल राष्ट्र बैंकको नेतृत्वको विषयमा बढ्दो चासोले आगामी मौद्रिक नीति तथा नियामकीय निर्देशिकामा असर पार्ने आशंका व्यक्त भइरहेको छ । लगानीकर्ताहरू नीतिगत स्पष्टताको पर्खाइमा रहेका छन्, जसले उनीहरूको क्रियाशीलता र लगानी निर्णयलाई प्रभावित गरेको छ । यसबीच, ऐतिहासिक रूपमा न्यून रहेको ब्याजदरले बजारमा लगानीको राम्रो अवसर प्रदान गरे पनि त्यसको उपयोग व्यापक रूपमा हुन नसकेको देखिन्छ ।
वाणिज्य बैंकहरूले तेस्रो त्रैमाससम्म थोरै मात्र लाभ वृद्धि देखाए पनि अन्य समूहका कम्पनीहरू क्रमशः आफ्नो वित्तीय विवरण सार्वजनिक गरिरहेका छन्। तर बजारमा हाल मागभन्दा आपूर्ति बढी रहेकोले सेयर मूल्यमा सुधार आउन सकेको छैन। विश्लेषकहरूका अनुसार बजारमा ऊर्जा देखिए पनि स्पष्ट नीतिगत दिशा र लगानीकर्ताको विश्वासबिना त्यसले गति लिन सक्दैन ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.९३ अकंले घटेर २६९३.३५ बिन्दुमा कायम भएको छ । आज ३१९ कम्पनीको २ करोड २५ लाख ५५ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३२ करोड रुपैयाँको कारोबार भएको छ ।
यसदिन ९ उपसूचक राताम्य भएका छन् भने ४ उपसूचकमा हरियाली आएको छ। आज ८६ कम्पनीको मूल्य बढेको छ भने १६० कम्पनीको घटेको छ।