इसेवाको नाममा सामाजिक सञ्जालमार्फत ठगीः गोप्य विवरण नदिन उपभोक्तालाई आग्रह

काठमाडौं ।आफूलाई इसेवाको कर्मचारी बताउँदै सामाजिक सञ्जालमार्फत प्रयोगकर्तालाई सम्पर्क गरी ठगी गर्ने घटनामा वृद्धि भएको भन्दै इसेवाले उपभोक्तालाई सतर्क रहन आग्रह गरेको छ।
कम्पनीका अनुसार हाल केही व्यक्तिहरूले व्हाट्सएप, भाइबर लगायतका सञ्जाल प्रयोग गरी उपभोक्तासँग ओटीपी, एमपिन र पासवर्डजस्ता गोप्य विवरण माग्ने कार्य भइरहेको छ। ती व्यक्तिहरूले ग्राहकलाई ठूलो धनराशीको चिठ्ठा परेको भन्दै कर तिर्नु पर्ने भन्दै ठगी गर्ने प्रयास गरेको पाइएको हो।
कम्पनीका कुनै पनि कर्मचारीले सामाजिक सञ्जालमार्फत सम्पर्क गरी यस्तो प्रकारको सूचना माग्ने वा चिठ्ठा परेको भन्दै रकम माग्ने कार्य गर्दैनन्। यसप्रकारका सन्देश वा फोन आएमा तुरुन्त सावधानी अपनाउन र आफ्नो व्यक्तिगत विवरण कसैसँग पनि साझा नगर्न उपभोक्तालाई आग्रह गरिएको छ।
‘डिजिटल माध्यमबाट हुने ठगीबाट बच्नका लागि प्रत्येक प्रयोगकर्ता स्वयं सजग र सतर्क रहन आवश्यक छ’ इसेवाले जनाएको छ।