ठेक्का प्रक्रियामा सूचना छली गरी भ्रष्टाचार, पूर्वप्रशासकीय अधिकृत र लेखापालमाथि विशेष अदालतमा मुद्दा

काठमाडौं । सार्वजनिक खरिद प्रक्रिया मिच्दै ठेक्का वितरणमा अनियमितता गरेको आरोपमा बाराको पचरौता नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव र लेखापाल हासिम मियाँ अन्सारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राप्त उजुरीका आधारमा अनुसन्धान गर्दा दुबै जनाले कानुनी प्रक्रिया उल्लंघन गर्दै ठेक्कामा हेरफेर गरेको पुष्टि भएपछि मुद्दा अगाडि बढाइएको हो। आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार ठेक्का प्रक्रियामा पारदर्शिता नभएको र नियतवश सूचना प्रकाशनमा बेइमानी गरिएको भेटिएको हो।
२०७७/७८ को आर्थिक वर्षमा नगरपालिका अन्तर्गत ठेक्का नं. ०२ र ०३ को बोलपत्र सूचना राष्ट्रिय दैनिकमा अनिवार्य रूपमा प्रकाशित गर्नुपर्ने व्यवस्था हुँदाहुँदै पनि, केएस मल्टिपर्पोज प्रालिका अध्यक्ष कमलकुमार उपाध्यायको मिलेमतोमा उक्त सूचना ‘प्रभाव दैनिक’ नामक पत्रिकामा मात्र एक प्रति प्रकाशित गरिएको पाइयो।
सूचना व्यापक रूपमा प्रकाशित नगरी कागजपत्रमा मात्रै देखिने गरी काम गरिएको र त्यसको आधारमा केएस मल्टिपर्पोज प्रालिलाई तीन लाख ५२ हजार ५६० रुपैयाँ भुक्तानी गरिएको आयोगको अभियोगपत्रमा उल्लेख छ।
अख्तियारका अनुसार यादव र अन्सारीले गरेको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१०)(ङ) अन्तर्गतको कसुरमा पर्ने भएकोले उनीहरूविरुद्ध सोही अनुसार विशेष अदालतमा मुद्दा दायर गरिएको हो।