पूँजीभन्दा तीन गुणा बढी ऋणमा भाइनेटः बजार विस्तार कछुवा गतिमा, सिफ्ट हुँदै ग्राहक

काठमाडौँ । एक समय ‘इन्टरनेटका पर्याय’ झैँ देखिएको भाइनेट कम्युनिकेशन आज संकटमा परिरहेको छ । व्यापार विस्तार गर्न नसकेको, सेवाको गुणस्तरप्रति ग्राहक असन्तुष्ट रहेको र लगानीभन्दा साढे तिन गुणा बढी ऋण बोकेको कम्पनीको वित्तीय अवस्था आज टाट पल्टिन सक्ने स्थितिमा आइपुगेको हो ।
इक्रा नेपालको हालैको प्रतिवेदनले भाइनेटको वास्तविक अवस्था नाङ्गो रुपमा उजागर गरिदिएको छ । प्रतिवेदन अनुसार भाइनेटको पूँजी संरचना अत्यन्त कमजोर छ । सन् २०२४ मा कम्पनीले आफ्नै मूर्त पूँजीको तुलनामा ३.५ गुणा बढी ऋण बोकेको पाइएको छ । जब कुनै कम्पनीले आफ्नो लगानीभन्दा धेरै ऋण लिन्छ, त्यसले दीर्घकालीन जोखिम निम्त्याउँछ । भाइनेट पनि त्यही चक्रमा फसेको छ ।
वास्तवमा भाइनेटले अहिलेको अवस्थामा काम चलाउनै पनि ऋणकै भरमा गरिरहेको छ । बजारमा इन्टरनेट सेवा प्रदायकहरू आक्रामक ढंगले विस्तार भइरहँदा भाइनेट भने कछुवा गतिमा हिँडिरहेको देखिन्छ । सन् २०२३ मा कम्पनीले २ अर्ब १७ करोड रुपैयाँ आम्दानी गरेकोमा २०२४ मा २ अर्ब ३० करोड रुपैयाँमा मात्र पुर्याउन सकेको छ । डिजिटल युगमा आम मानिस इन्टरनेटमा भर पर्न थालेका छन्, तर भाइनेटको पहुँच विस्तार ठप्पजस्तै छ ।
बजार विस्तार नहुनुमा अत्यधिक ऋण्, सेवा गुणस्तरको अभाव, व्यवस्थापनको रणनीतिक कमजोरी र सेवा गुणस्तरप्रति ग्राहकहरू निराश छन् । उपत्यकाभित्र नै नेटवर्क अवरोध, स्लो इन्टरनेट स्पिड, कमजोर कस्टमर सपोर्ट लगायतका समस्याले प्रयोगकर्ताहरू वैकल्पिक सेवाप्रदायकतर्फ सरेका छन् ।
‘अहिलेको जमानामा इन्टरनेट बन्द हुनु भनेको घरै अन्धकारमा भएकोजस्तो हो, तर भाइनेटले सेवा दिन नसक्दा म अर्कै कम्पनीमा सरेँ’ काठमाडौँको पुतलिसडक मोबाइल पसल सञ्चालन गरी रहेका विकास श्रेष्ठले भने ।
यो अवस्था कम्पनीको वित्तीय प्रदर्शनमा स्पष्ट झल्किएको छ । भाइनेटको कुल ऋण र सञ्चालन मुनाफाको अनुपात २०२४ मा २.३ गुणामा पुगेको छ, जुन २०२१ मा १.८ मात्र थियो । कम्पनीले उत्पादन गरेको आम्दानीको ठुलो हिस्सा ऋण तिर्नमै जान्छ । साथै, ब्याज भुक्तानी क्षमता पनि घट्दो क्रममा छ । सन् २०२१ मा ५.८ गुणा रहेको अनुपात २०२३ मा ३.२ मा झरेको थियो भने २०२४ मा हल्का सुधार हुँदै ३.७ मा पुगेको छ ।
भाइनेटले ७७ जिल्लामध्ये २८ जिल्लामा मात्रै सेवा विस्तार गर्न सकेको छ । त्यो पनि पुरानै संरचना र सीमित स्रोत साधन प्रयोग गरेर । कम्पनीका ६८ वटा शाखा, सञ्चालन केन्द्र र सेवा केन्द्रहरू छन् । तर, तीमध्ये धेरैजसो सेवा केन्द्र निष्क्रियजस्तै छन् भन्ने गुनासाहरू बढ्दै छन् । शाखामा फोन गर्दा नउठ्ने, समस्या समाधान गर्न हप्तादिन लाग्ने जस्ता सेवाले ग्राहक बाँधिएर बस्न नक्सने अवस्था आएको छ ।
कम्पनीका प्रमुख शेयरधनी तथा प्रबन्ध निर्देशक बिनय बोहोरा हुन् । उनीसँग भाइनेटको ८५ प्रतिशत सेयर स्वामित्व छ । तर सार्वजनिक लिमिटेड कम्पनीमा रूपान्तरण भइसकेपछि पनि उनले संस्थागत सुधार र सेवा अभिवृद्धिमा ध्यान दिन सकेका छैनन् । बरु संस्थागत हिसाबले थप कमजोर संरचना देखिएको छ ।
पछिल्ला पाँच वर्षदेखि भाइनेटको कुल बाह्य दायित्व र मूर्त खुद पुँजीबीचको अनुपात लगभग ७.४ गुणामा सीमित छ । यो निकै खतरनाक अनुपात हो । कम्पनी बाह्य स्रोतहरूमा पूर्ण निर्भर छ ।
चालु अनुपात जसले कम्पनीको तरलता जनाउँछ, त्यो समेत ०.५ मा झरेको छ । यस्तो अनुपात कम्पनी कुनै पनि समय दायित्व पूरा गर्न असमर्थ हुनसक्छ भन्ने संकेत हो । भाइनेटले हालै दुरसञ्चार विकास कोष तिर्न ४२ करोड रुपैयाँ ऋणमा आधारित योजना अघि सारेको छ, जुन आठ वर्षभित्र तिर्नुपर्नेछ । यस्तो अवस्थामा थप ऋण लिने योजना कम्पनीको स्थायित्वमा थप दबाव सिर्जना गर्ने देखिन्छ ।
विगत केही वर्षयता भाइनेटले सेवा विस्तारमा लाखौं खर्च गरे पनि ति खर्च प्रतिफलमा परिणत हुन सकेका छैनन् । केबल बिछ्याउने, नेटवर्क विस्तार गर्ने, उपकरणहरू खरिद गर्ने नाममा गरिएका खर्च ‘डेड इनभेष्टमेन्ट’ साबित भएका छन् । बजार प्रतिस्पर्धामा पछि परेको, सेवा गुणस्तरले ग्राहक गुमाएको र वित्तीय जोखिमले भविष्य अनिश्चित बनाएको यथार्थ अब लुकाउने ठाउँ छैन । ऋणमै बाँचिरहेको भाइनेटको अस्तित्व आफ्नै बोझमा थिचिन लागेको छ ।