ट्रम्पद्वारा केन्द्रीय बैंकका गभर्नरको चर्को आलोचनाः शेयर बजार र डलर धराशायी, सुनको ऐतिहासिक उचाइ

कामठाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केन्द्रीय बैंकका गभर्नर जेरोम पावेलमाथि चर्को आलोचना गरेपछि अमेरिकी शेयर बजार तथा डलर पुनः भारी गिरावटमा गएको छ। ब्याजदर नघटाएको भन्दै पावेललाई ढिलो गर्ने व्यक्ति र ठूलो हारेको मान्छे भनेका ट्रम्पले ब्याजदर तत्काल घटाउन आह्वान गरेका छन्।
सामाजिक सञ्जालमार्फत ट्रम्पले लेखेका छन्, ‘अब पनि ब्याजदर घटाइएन भने अमेरिकी अर्थतन्त्रमा मन्दी आउन सक्छ। श्रीमान् ढिलो गर्ने, एक ठूला हार्ने व्यक्ति हुन्। अब ब्याजदर घटाउनुपर्छ।’
ट्रम्पको ब्याजदर घटाउने दबाबको पृष्ठभूमिमा उनले आफैंले ल्याएका ट्यारिफ नीतिहरूले सेयर बजारमा गिरावट ल्याएका छन् भने आर्थिक मन्दीको डर थपिएको छ।उनले पहिलो कार्यकालमै पावेललाई फेडरल रिजर्भको गभर्नर नियुक्त गरेका थिए। हाल पुनः उनीमाथि सार्वजनिक आक्रमण गरेपछि बजारमा थप अन्यौलता देखिएको हो।
सोमबारको कारोबारमा एस एन्ड पी ५०० सूचकांक झण्डै २.४ प्रतिशतले घटेको छ, जुन सूचकांक वर्षको सुरुदेखि १२ प्रतिशतले घटिसकेको हो। डाउ जोन्स औद्योगिक सूचकांक पनि २.५ प्रतिशतले ओरालो लागेको छ भने यो सूचकांक वर्षको सुरुदेखि १० प्रतिशतले घटिसकेको छ।
त्यसैगरी प्रविधि क्षेत्रको प्रमुख सूचक नास्डाक पनि २.५ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ र यो सूचक वर्षको सुरुदेखि १८ प्रतिशतले झरेको छ। अर्थतन्त्रमा अनिश्चितता बढे पनि सामान्यतः सुरक्षित मानिने अमेरिकी डलर र सरकारको ऋणपत्र समेत अहिलेको बजार अस्थिरतिबाट जोगिन सकेका छैनन्। डलरको शक्ति मापन गर्ने डलर सूचकांक सोमबार २०२२ यताकै न्यूनतम बिन्दुमा पुगेको छ। अर्कोतर्फ अमेरिकी सरकारका ऋणपत्रमा ब्याजदर बढेको छ, जसको अर्थ लगानीकर्ताहरूले उच्च प्रतिफलको माग गरेका छन्।
मंगलबार बिहानको कारोबारमा प्रमुख सेयर बजारहरूमा सुस्तता देखिएको छ। जापानको निक्केई २२५ र अष्ट्रेलियाको एएसएक्स २०० करिब ०.१ प्रतिशतले घटेका छन् भने हङकङको ह्याङसेङ सूचक झण्डै ०.५ प्रतिशतले घटेको छ।
लगानीकर्ताहरूले सुरक्षित विकल्पको खोजी गर्दा सुनको मूल्य नयाँ कीर्तिमानमा पुगेको छ। सोमबार स्पट गोल्डको मूल्य प्रति औंस ३ हजार ४ सय अमेरिकी डलर नाघेको छ, जुन हालसम्मकै उच्च हो। सुनलाई विश्वव्यापी रूपमा आर्थिक अनिश्चितता वा संकटको समयमा सुरक्षित लगानीको विकल्प मानिन्छ।
ट्रम्पले पहिलो कार्यकालमै पावेललाई हटाउने विचार गरेका थिए। अब पुनः उनले सामाजिक सञ्जालमा खुलेर पावेललाई “यथाशीघ्र हटाइनु पर्छ” भन्दै आलोचना गरेका छन्।
पावेलले अघिल्लो वर्ष पत्रकारहरूलाई राष्ट्रपति ट्रम्पसँग आफूलाई हटाउने कानुनी अधिकार नभएको बताएका थिए। तर ट्रम्पका एक प्रमुख आर्थिक सल्लाहकारले शुक्रबार—जब अमेरिकी बजार बन्द थियो—पावेललाई हटाउने कानुनी विकल्पको अध्ययन भइरहेको पुष्टि गरेका थिए। ट्रम्प र पावेलबीचको यो विवाद अमेरिकी अर्थतन्त्र तथा बजारका लागि थप अस्थिरता निम्त्याउने संकेतको रूपमा हेरिएको छ।