शिक्षक आन्दोलनकाबीच कक्षा–१२ को परीक्षा तोकिएको मितिमै सञ्चालन हुने

काठमाडौ। शिक्षक आन्दोलनको प्रभावबीच पनि कक्षा–१२ को परीक्षा तोकिएको मितिमा सञ्चालन हुने पक्का भएको छ। राष्ट्रिय परीक्षा बोर्डको आज बिहान बसेको बैठकले परीक्षा यथासमयमै लिने निर्णय गरेको हो।
बोर्डले यसअघि नै वैशाख ११ गतेदेखि परीक्षा सुरू गर्ने तालिका सार्वजनिक गरिसकेको छ। आजको बैठकमा हाल शिक्षक आन्दोलनको कारण सिर्जिएको अन्योलता र सम्भावित विकल्पहरूमाथि छलफल गरिएको थियो।
नेपाल शिक्षक महासंघले करिब तीन हप्तादेखि काठमाडौंमा आन्दोलन गर्दै आएको छ। आन्दोलनका क्रममा महासंघले कक्षा–१२ को परीक्षा लगायतका कुनै पनि कार्यक्रमहरूमा सहभागी नहुन शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई आह्वान गर्दै आएको छ।