करारका अमिन बने करोडपती, अख्तियारले दायर गर्‍यो भ्रष्टाचार मुद्दा

८ बैशाख २०८२, सोमबार १७:१०

काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपत्यका विकास प्राधिकरणमा कार्यरत करारका अमिन दिनेश प्रसाद यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। प्राधिकरणअन्तर्गत काठमाडौँस्थित जिल्ला आयुक्तको कार्यालयबाट सञ्चालित बागमती नगर जग्गा एकीकरण आयोजना, गौरीघाटमा कार्यरत यादवमाथि अख्तियारले विशेष अदालतमा भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको अभियोगमा मुद्दा दायर गरेको हो।

अख्तियारका अनुसार २०६३ साल भदौ ८ गतेदेखि २०८१ साल असार ३० गतेसम्मको अवधिमा यादवको आय–व्यय विवरण र सम्पत्ति विवरण अध्ययन गर्दा उनले वैध आम्दानीको तुलनामा ३ करोड २९ लाख ४५ हजार ७ सय २ रुपैयाँ २१ पैसाको स्रोत नखुलेको सम्पत्ति आर्जन गरेका छन्।

उक्त अवधिमा यादवले तलबी, भत्ता, नागरिक लगानी कोष, आवास कर्जा, कृषि आम्दानी, सवारी र अचल सम्पत्ति बिक्री, सापटी तथा बैंकको ब्याजलगायतबाट २ करोड ४२ लाख २० हजार ३०१ रुपैयाँ ३० पैसाको वैध आय गरेको पाइएको अख्तियारको दाबी छ। तर सोही अवधिमा उनले घर निर्माण, गहना, जग्गा खरिद, सवारी साधन, शैक्षिक खर्च, ऋण सापटी, सामाजिक खर्चलगायतमा ५ करोड ७१ लाख ६६ हजार ३ रुपैयाँ ५१ पैसाको खर्च गरेका छन्।

आयोगले यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) अनुसार गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरमा दोषी ठहर गर्न माग गर्दै सोही ऐनको दफा २०(२) अनुसार सजाय मागदाबी गरेको हो। यस्तै, यादवले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति र त्यसबाट बढाइएको अन्य सम्पत्ति आफ्नी श्रीमती अमृता कुमारी यादवको नाममा राखेको देखिएको भन्दै आयोगले श्रीमती अमृतालाई समेत प्रतिवादी बनाई सम्पत्ति जफतको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ।

Loading...

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*