१२२ करदातामाथि कारबाहीको प्रक्रिया सुरु, ६० करोड बढी बक्यौता उठाउन बाँकी

काठमाडौँ । आन्तरिक राजस्व कार्यालय मकवानपुर, हेटौँडाले लामो समयदेखि कर नबुझाउने करदातामाथि कानुनी कारबाही अघि बढाएको छ। कार्यालयले दर्ता भएर पनि निरन्तर कर नतिर्ने १२२ जना करदाताको विवरण तयार गरी बैंक खाता, कारोबार, घरजग्गा तथा आयात–निर्यातसमेत रोक्का गर्न आवश्यक प्रक्रिया थालिएको जानकारी दिएको छ।
कार्यालयका प्रमुख कर अधिकृत युक्तप्रसाद सुवेदीका अनुसार पटक–पटक मौखिक र लिखित रूपमा जानकारी गराउँदा पनि कर नतिर्ने करदातालाई अब भने कानुनी प्रक्रियामा लैजाने बाध्यता आएको हो। ‘धेरै समयदेखि आलटाल गर्दै कर नबुझाउने करदातामाथि हामीले अब प्रक्रिया अघि बढाएका छौँ,’ उनले भने, ‘खाता, कारोबार र सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार भइसकेको छ।’
कार्यालयका अनुसार कर नतिरेका ती करदाताबाट करिब ६० करोड रुपैयाँभन्दा बढी राजस्व उठाउन बाँकी छ। कानुनी प्रक्रिया अघि बढेपछि केही करदाताले भने कर बुझाउने प्रयोजनका लागि सम्पर्क गर्न थालेको प्रमुख सुवेदीले बताए।
यता, कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो नौ महिनाको अवधिमा चार अर्ब ८७ करोड ५९ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। यो लक्ष्यको ८२ दशमलव ३२ प्रतिशत बराबरको संकलन हो। कार्यालयले चालु आवको सो अवधिमा छ अर्ब चार करोड ५४ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो।
कार्यालय प्रमुख सुवेदीका अनुसार चालु आवमा वार्षिक रूपमा आठ अर्ब ४४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको छ। कार्यालयमा हाल आयकर तर्फ ३४ हजार २२९, मूल्य अभिवृद्धि करतर्फ पाँच हजार ९५३, अन्तःशुल्क तर्फ एक हजार ६११, विथहोल्ड तर्फ ७१३ र व्यक्तिगत करदाता तर्फ ८४ हजार ४२९ जना दर्ता रहेका छन्।