लगानीकर्ता ‘पर्ख र हेर’ रणनीतिमाः कारोबार रकममा रौकन, कस्तो होला अबको लय ?

काठमाडौं । नेपाली शेयर बजार लगातार दोश्रो दिन पनि ओरालो लागेको छ । बजारले २७ सयको मनोवैज्ञानिक बिन्दु नाघ्न नसक्दा अल्पकालीन लाभ सुरक्षित गर्न चाहने लगानीकर्ताको व्यवहारले बजारमा स्थायित्व आउन सकेको छैन । नेप्से सूचक एकै तहमा घुमिरहनुका कारणले गर्दा बजारमा ठूलो आशावाद देखिन सकेको छैन ।
हाल बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर ऐतिहासिक रूपमा न्यून विन्दुमा पुगेको छ, जसले बजारमा लगानीकर्ताका लागि राम्रो अवसर सिर्जना गरे पनि त्यसको पूर्ण लाभ उठाउन सकेको अवस्था छैन । वाणिज्य बैंकहरूको तेस्रो त्रैमासको वित्तीय विवरणले थोरै मात्र मुनाफा वृद्धिको संकेत दिएको छ भने अन्य समूहका कम्पनीहरुले पनि वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् । तर बजारमा मागभन्दा आपूर्ति बढी हुँदा सेयर मूल्य वृद्धि रोकिएको देखिन्छ ।
राजनीतिक अस्थिरता, गभर्नर नियुक्तिमा देखिएको अनिश्चितता र ब्रोकर सेवाको पहुँच ग्रामीण तहसम्म नपुगेको अवस्था पनि बजार विस्तारमा प्रमुख बाधक बनेका छन् । नयाँ लगानीकर्ता आकर्षित गर्न नसकिएको, शेयर शिक्षाको अभाव, र आम लगानीकर्तामा रहेको आशंकाले गर्दा बजारमा ऊर्जा देखिए पनि त्यसले गती लिन सकेको छैन । यस्तै, केन्द्रीय बैंकको नेतृत्वबारे चासो उच्च रहेको र त्यसले आगामी नीतिगत मार्गनिर्देशनमा असर पार्ने आशंका समेत गरिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.०४ अकंले घटेर २७०१.९९ बिन्दुमा कायम भएको छ । आज ३१९ कम्पनीको २ करोेड १२ लाख ३ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ७५ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।
आज पाँच वटा उपसूचक राताम्य हुँदा ८ उपसूचकमा हरियाली आएको छ । यसदिन ११२ कम्पनीको शेयर मूल्य बढेको छ भने १३३ कम्पनीको घटेको छ ।