विद्युतीय सवारीमा चुलिँदो क्रेजः ५१ देखि १०० किलोवाटका ईभीले बजार जमाउँदै, नीतिले पारेन प्रभाव

८ बैशाख २०८२, सोमबार १४:०३

काठमाडौँ । पछिल्लो समय नेपाली बजारमा विद्युतीय सवारी साधन (ईभी) को आकर्षण तीव्र गतिमा बढिरहेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ९ महिनामा करिब १८ अर्ब ६२ करोड रुपैयाँ बराबरका कार, जीप र भ्यानसहितका ७ हजार ९६७ वटा विद्युतीय सवारी साधन नेपाल भित्रिएका छन् । यसमध्ये चैत महिनामा मात्र  ८७८ वटा ईभी नेपाल आएका छन्, जसले मासिक हिसाबमा पनि आयातको ग्राफ माथि उठेको देखाउँछ ।

ईभी आयातबाट सरकारले पनि उल्लेखनीय राजस्व संकलन गरेको छ । चैत मसान्तसम्म आयातित विद्युतीय सवारी साधनबाट ११ अर्ब ४७ करोड रुपैयाँभन्दा बढीको राजस्व संकलन भएको विभागले जनाएको छ । आयातित गाडीहरूमा ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताका सवारी सबैभन्दा बढी छन् । सो वर्गमा पर्ने ४ हजार ४१४ वटा सवारी साधनको मूल्य मात्रै १० अर्ब ९४ करोड रुपैयाँभन्दा बढी पुगेको छ, जुन कुल ईभी आयातको ५५ प्रतिशतभन्दा बढी हो ।

त्यस्तै, ५० किलोवाटसम्म क्षमताका २ हजार ७९२ वटा सवारी साधन भित्रिएका छन् भने १०१ देखि २०० किलोवाट क्षमताका ७४२ वटा, २०१–३०० किलोवाट क्षमताका १७ वटा र ३०० किलोवाटभन्दा माथि क्षमताका जम्मा २ वटा विद्युतीय सवारी साधन नेपाल भित्रिएको तथ्यांकले देखाएको छ ।

विद्युतीय सवारी साधनको मुख्य आपूर्तिकर्ता चीन रहेको छ । कुल ईभी आयातको करिब ७४ प्रतिशत हिस्सा चीनको रहेको छ । भन्सार विभागका अनुसार चीनबाट १४ अर्ब ४९ करोड रुपैयाँभन्दा बढीको ५ हजार ९०२ वटा ईभी नेपाल आयात गरिएको छ । सोही अवधिमा भारतबाट ३ अर्ब ८५ करोड रुपैयाँभन्दा बढीको २ हजार २३ वटा सवारी भित्रिएको छ भने अन्य थोरै संख्यामा जर्मनी (३१ वटा), अमेरिका (५ वटा), दक्षिण कोरिया र इन्डोनेसियाबाट ३/३ वटा सवारी आयात भएका छन् ।

चीनसँगको उत्तरी रसुवा नाकाबाट सबैभन्दा धेरै विद्युतीय सवारी साधन भित्रिएको पाइएको छ । सो नाका हुँदै सवारी भित्र्याउन यातायात सुविधा सहज रहेको व्यवसायीहरूको भनाइ छ । व्यवसायीहरूले विशेष गरी चीनको ‘बिवाइडी’ ब्रान्डका सवारीहरूमा रुचि देखाउँदै आएका छन् ।

ईभी सस्तो, मर्मत खर्च कम र वातावरणमैत्री हुँदा उपभोक्ताको ध्यान यतैतिर आकर्षित भएको व्यवसायीहरू बताउँछन् । पेट्रोल–डिजल सवारीमा लाग्ने नियमित मर्मत खर्चजस्तै इन्जिन आयल, फिल्टर, गियरबक्स मर्मतजस्ता समस्या विद्युतीय सवारीमा नलाग्ने भएकाले त्यसतर्फको खर्च धेरै घटेको उपभोक्ताको अनुभव छ । ईभीमा टायर, ब्याट्री र सामान्य सर्भिसिङ मात्र आवश्यक हुने हुँदा मर्मत खर्च निकै कम लाग्ने बताइन्छ ।

विद्युतीय सवारी साधनले वातावरण प्रदूषण गर्ने कार्बन मोनोअक्साइडजस्ता हानिकारक ग्यास उत्सर्जन नगर्ने भएकाले यो सवारी वातावरणमैत्री विकल्पको रूपमा स्थापित हुँदै गएको छ । नेपालमा ईभीको प्रयोग तीव्र गतिमा बढ्नु सकारात्मक संकेत हो, जसले वातावरण संरक्षणमा योगदान मात्र होइन, विदेशी इन्धनको आयात घटाएर मुलुकको व्यापार घाटा कम गर्नेतर्फ पनि मार्ग प्रशस्त गर्ने सम्भावना बोकेको छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षामार्फत विद्युतीय सवारीसाधनमा ऋण दिने सन्दर्भमा कडाइ गरेपछि ईभीको आयातमा असर पर्ने अनुमान गरिएको थियो। समीक्षाले विद्युतीय सवारीका लागि उपलब्ध गराइने बैंक ऋणको सीमा ८० प्रतिशतबाट घटाएर ६० प्रतिशतमा झारेको छ, भने इन्धनबाट चल्ने सवारीका लागि भने ऋणको सीमा ५० प्रतिशतबाट बढाएर ६० प्रतिशत पुर्‍याएको छ। व्यवसायीहरूले यस नीतिका कारण ईभीको बिक्रीमा करिब २० प्रतिशतले गिरावट आउने अपेक्षा गरे पनि व्यवहारमा त्यसको प्रभाव न्यून देखिएको छ। नेपाली उपभोक्ताबीच पेट्रोलियम सवारीभन्दा ईभीलाई नै प्राथमिकता दिइनु, यसको सस्तो सञ्चालन लागत र वातावरणमैत्री विशेषता जस्ता कारणले गर्दा विद्युतीय सवारी नै प्रमुख रोजाइमा पर्न थालेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*