वैदेशिक व्यापारमा सुधारका संकेतः निर्यात ६५ प्रतिशतले वृद्धि, व्यापार घाटा अझै उच्च

काठमाडौँ । देशको वैदेशिक व्यापारमा सुधारको संकेत देखिएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो नौ महिनामा (साउनदेखि चैत मसान्तसम्म) व्यापारमा वृद्धि देखिएको छ । यो अवधिमा निर्यात उच्च दरले वृद्धि भएको छ भने आयातको वृद्धि तुलनात्मक रुपमा कम रहेको छ । तथापि, व्यापार घाटा भने अझै पनि ठूलो रहेको देखिन्छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो नौ महिनामा कुल आयात १२.१८ प्रतिशतले बढेर १३ खर्ब ९ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो ११ खर्ब ६७ अर्ब ३६ करोड रुपैयाँ मात्र थियो ।
उता, निर्यातमा उल्लेख्य सुधार देखिएको छ । निर्यात ६५.१६ प्रतिशतले बढेर १ अर्ब ८८ अर्ब १९ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा १ खर्ब १३ अर्ब ९४ करोड रुपैयाँ थियो ।
यस्तो सुधारका बाबजुद व्यापार घाटा भने अझै पनि उच्च छ । व्यापार घाटा ६.४५ प्रतिशतले बढेर ११ खर्ब २१ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा व्यापार घाटा १० खर्ब ५३ अर्ब ४२ करोड रुपैयाँ थियो ।
यस्तै, कुल वैदेशिक व्यापार (निर्यात र आयात) १६.८९ प्रतिशतले वृद्धि भएर १४ खर्ब ९७ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ ।
वैदेशिक व्यापार संरचनामा केही सकारात्मक संकेत पनि देखिएको छ । निर्यातको कुल व्यापारमा हिस्सा ४१.३० प्रतिशतले बढेर १२.५७ प्रतिशत पुगेको छ भने आयातको हिस्सा ४.०३ प्रतिशतले घटेर ८७.४३ प्रतिशतमा झरेको छ ।
नेपालले निर्यातमुखी अर्थतन्त्रतर्फ थोरै भए पनि अग्रसर भइरहेको सङ्केत गरे पनि अझै ठूलो व्यापार घाटाले चिन्ताजनक अवस्था कायमै रहेको देखिन्छ ।