नाफामा मुक्तिनाथलाई गरिमाले टप्योः ग्रोथमा आक्रामक ज्योति र सांग्रिला, पुच्छारमा लुम्बिनी

७ बैशाख २०८२, आईतवार १२:३७

काठमाडौँ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा राष्ट्रिय स्तरका विकास बैंकको नाफा साढे ३ अर्बमाथि उक्लिएको छ । बैंकहरुले सार्वजनिक गरेको विवरण अनुसार हाल सञ्चालनमा रहेको ८ राष्ट्रिय स्तरका विकास बैंकले पछिल्लो ९ महिनामा ३ अर्ब ६९ करोड २७ लाख १२ हजार रुपैयाँ नाफा आर्जन गरेका हुन् ।

बैंकहरुले गरेको नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ४.३५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा विकास बैंकले ३ अर्ब ५३ करोड ८८ लाख रुपैयाँ नाफा कमाएका थिए ।

सर्वाधिक नाफा कमाउनेमा गरिमा विकास बैंक पहिलो नम्बरमा रहेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा गरिमाले आफ्नो नाफा ७.३२ प्रतिशले बढाएर ७३ करोड ३४ लाख ९१ हजार रुपैयाँ पुराएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको नाफा ६८ करोड ३४ लाख ६२ हजार रुपैयाँ रहेको थियो ।

मुक्तिनाथ विकास बैंक सबैभन्दा नाफा कमाउने सूचीमा दोस्रो नम्बरमा रहेको छ । यसअवधिसम्ममा बैंकले ७२ करोड ४८ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । जुन नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १६.८६ प्रतिशतले कम हो ।

समिक्षा अवधिमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा ५१ करोड ४० लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ०.१३ प्रतिशतले मात्रै कम हो ।

साथै, कामना सेवा विकास बैंकको नाफा ४८ प्रतिशतले बढेर ४९ करोड ३१ लाख रुपैयाँ पुगेको छ झने महालक्ष्मी विकास बैंकको १६.८७ प्रतिशतले बढेर ४३ करोड ६५ लाख रुपैयाँ रहेको छ ।

सर्वाधिक नाफा बढाउनेमा भने ज्योति विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंक अग्र स्थानमा रहेका छन् । ज्योतिले आफ्नो नाफा १०१ प्रतिशतले बढाएर ३० करोड ६६ लाख रुपैयाँ र सांग्रिलाले ६१.९७ प्रतिशतले बढाएर ४३ करोड ४२ लाख रुपैयाँ रहेको छ ।

नाफामा सबैभन्दा पुच्छारमा लुम्बिनी विकास बैंक रहेको छ । बैंकको नाफा ८५ प्रतिशतले घटेर ४ करोड ९७ लाख रुपैयाँमा सीमित भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*