सांग्रिला डेभलपमेन्ट बैंकको वित्तीय विवरणमा झल्कियो प्रगतिः नाफा ६१ प्रतिशतले बढ्यो, अधिकांश सूचक मजबूत

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनी अधिकांश सूचक अब्बल देखिएका छन् ।
चालु आर्थिक वर्षको ९ महिनामा बैंकले ४३ करोड ४२ लाख १८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ६१.१९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले २६ करोड ९३ लाख ८९ हजार रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको खुद ब्याज आम्दानी १.३१ प्रतिशतले घटेर १ अर्ब ४२ करोड ९१ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधि कम्पनीको उक्त आम्दानी १ अर्ब ४४ करोड ८१ लाख रुपैयाँ रहेको थियो ।
यता, बैंकको सञ्चालन नाफा ३८ करोड ६८ लाख ९२ हजार रुपैयाँबाट बढेर ६२ करोड १८ लाख ८५ हजार रुपैयाँ पुगेको छ । बैंकको कुल संञ्चालन आम्दानी १ अर्ब ४९ करोड २ लाख रुपैयाँ रहेको छ ।
गत वर्ष ऋणात्मक अवस्थामा रहेको वितरणयोग्य नाफा चालु आर्थिक वर्षमा २४ करोड २ लाख ७१ हजार रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा ४.९७ प्रतिशत रहेको छ ।
समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी ३ अर्ब ५५ करोड ६२ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष सञ्चिति १ अर्ब ६२ करोड ९० लाख रुपैयाँ रहेको छ ।
चैत मसान्तसम्मको अवधिमा बैंकको प्रतिशेयर आम्दानी १६.२८ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १५२.५६ रुपैयाँ रहेको छ ।