नेपाल बैंकको खुद नाफा ह्वात्तै बढ्यो, लाभांश क्षमता कति?

काठमाडौं । नेपाल बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त विवरण अनुसार गत वर्षको तेस्रो त्रैमासको तुलनामा यस वर्षको सोही अवधिमा बैंकको खुद नाफा २०३२.८० प्रतिशतले वृद्धि भएको हो।
बैंकले गत वर्षको चैत मसान्तसम्म १३ करोड रुपैयाँ मात्रै खुद नाफा गरेकोमा चालू आवको यसै अवधिमा भने २ अर्ब ७८ करोड रुपैयाँबढी खुद नाफा गर्न सफल भएको छ।
बैंकको वितरणयोग्य नाफा (लाभांश क्षमता) गत वर्ष करीब १ अर्ब ऋणात्मक रहेकोमा चालू आवमा १ अर्ब २७ करोड धनात्मक पुगेको छ। यससँगै प्रतिशेयर आम्दानी पनि १ रुपैयाँ १८ पैसाबाट बढेर २५ रुपैयाँ २६ पैसा पुगेको छ।
त्यस्तै बैंकको सञ्चालन नाफा पनि ५८ करोडबाट बढेर एकैचोटी ४ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ भने खुद ब्याज र कुल सञ्चालन आम्दानी भने सामान्य बढेर क्रमशः ७ करोड १० लाख रुपैयाँ र ८ करोड ५६ लाख रुपैयाँ नाघेको छ।
बैंकको चुक्ता पूँजी १४ अर्ब ६९ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३० करोड र रिजर्भ कोषमा २३ अर्ब ३१ करोड रुपैयाँबढी रहेको छ। बैंकको प्रतिशेयर नेटवर्थ २६० रुपैयाँ ७४ पैसा रहेको छ।