सिद्धार्थ बैंकको नाफा १ अर्ब ६६ करोडबढी, अन्य सूचक कस्तो?

७ बैशाख २०८२, आईतवार ०८:०१

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त विवरण अनुसार बैंकले चालू आवको चैत मसान्तसम्म १ अर्ब ६६ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ।

बैंकले गत वर्षको यसै अवधिमा १ अर्ब ६८ करोड रुपैयाँ खुद नाफा गरेको थियो चालू आवमा बैंकको खुद नाफा सामान्य घटेको हो। बैंकको सञ्चालन नाफा र इम्पेयमेन्ट चार्ज बढेकाले खुद नाफामा दबाब परेको हो।

चालू आवमा बैंकको सञ्चालन नाफा २.४० प्रतिशतले घटेर २ अर्ब ३८ करोड रुपैयाँमा झरेको छ भने इम्पेयरमेन्ट चार्ज १ अर्ब ७० करोड रुपैयाँबाट बढेर २ अर्ब २१ करोड नाघेको छ।

यद्यपि बैंकको खुद ब्याज र कुल सञ्चालन आम्दानीमा भने वृद्धि भएको छ। गत वर्ष बैंकको खुद ब्याज आम्दानी ६ अर्ब रुपैयाँ रहेकोमा चालू आवमा बढेर ६ अर्ब ३३ करोड नाघेको छ। यता सञ्चालन नाफा पनि गत वर्ष करिब साढे ७ अर्ब रहेकोमा चालू आवमा बढेर सवा ८ अर्ब नाघेको छ।

बैंकको चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १८ करोड रुपैयाँ र रिजर्भ कोषमा १४ अर्ब ९५ करोड रुपैयाँ रहेको छ।

बैंकको निष्क्रिय कर्जा ४.०४ प्रतिशत, प्रतिशेयर आम्दानी (ईपीएस) १५ रुपैयाँ ८९ पैसा, प्रतिशेयर नेटवर्थ २०७ रुपैयाँ ४८ पैसा र वितरणयोग्य नाफा पौने १९ करोड रुपैयाँ रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*