९ महिनामा कृषि विकास बैंकको नाफा १ अर्ब ८४ करोडः वितरणयोग्य नाफामा उछाल, अन्य सूूचक कस्ता ?

काठमाडौँ । कृषि विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार नाफा केहि सामान्य प्रभावित भएपनि अन्य सूचक भने सुधारउन्मुख नै देखिएका छन् ।
चालु आर्थिक वर्षको ९ महिनामा बैंकले १ अर्ब ८४ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा १०.१७ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको नाफा २ अर्ब ५ करोड ३१ लाख रुपैयाँ रहेको थियो ।
समिक्षा अवधिसम्ममा कम्पनीको खुद ब्याज आम्दानी १४.९६ प्रतिशतले घटेर ६ अर्ब १२ करोड ५९ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त आम्दानी ७ अर्ब २० करोड रुपैयाँ रहेको थियो ।
कम्पनीको सञ्चालन नाफा२ अर्ब ६७ करोड ४६ लाखबाट घटेर २ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । साथै, कुल सञ्चालन आम्दानी ६ अर्ब ७९ करोड रुपैयाँ रहेको छ ।
यसअवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब १२ करोड ८६ लाख रुपैयाँबाट बढेर १ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । खराब कर्जा भने ४.९८ प्रतिशत पुगेको छ ।
समिक्षा अवधिमा बैैंकको चुक्तापुँजी १९ अर्ब २८ करोड रुपैयाँ रहेको छ भने जगेडा कोष सञ्चिति १५ अर्ब ४९ करोड रुपैयाँ रहेको छ ।
९ महिनाको अवधिमा बैंकको प्रतिशेयर आम्दानी ११.४७ रुपैयाँ र प्रतिशेयर खुद मुल्य २१७.७३ रुपैयाँ रहेको छ ।