एभरेष्ट बैंकको वित्तीय विवरणमा लोभलाग्दो प्रगति, नाफासँगै बढ्यो ईपीएस

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त विवरण अनुसार बैंकको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३२.५५ प्रतिशतले वृद्धि भएको छ।
बैंकले गत आवको चैत मसान्तसम्म २ अर्ब ६० करोड रुपैयाँबढी खुद नाफा कमाएकोमा चालू आवमा बढेर ३ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी पुगेको छ। यस वर्ष बैंकको आय आम्दानी बढेको र इम्पेयरमेन्ट चार्ज समेत घटेका कारण नाफा बढ्न टेवा पुगेको हो।
गत वर्ष बैंकको सञ्चालन नाफा ३ अर्ब ७२ करोड रुपैयाँ रहेकोमा चालू आवमा बढेर ८ अर्ब रुपैयाँ नाघेको छ भने खुद ब्याज आम्दानी पनि १ अर्बबढी रुपैयाँले बढेर ६ अर्ब ७४ करोड रुपैयाँ कायम भएको छ।
बैंकको कुल सञ्चालन आम्दानी पनि गत वर्ष ६ अर्ब ९२ करोड रुपैयाँ रहेकोमा चालू आवमा बढेर ८ अर्ब १७ करोड रुपैयाँ पुगेको छ। बैंकको इम्पेयरमेन्ट चार्ज गत वर्ष ६३ करोड रुपैयाँ रहेकोमा चालू आवमा घटेर २७ करोड रुपैयाँमा झरेको छ।
बैंकको वितरणयोग्य नाफा गत वर्ष २ अर्ब ७५ करोड रुपैयाँ रहकोमा चालू आवमा बढेर ६ अर्ब ६७ करोड रुपैयाँ नाघेको छ। यससँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) समेत २९ रुपैयाँ ५५ पैसाबाट बढेर ३५ रुपैयाँ ६१ पैसा कायम भएको छ।
बैंकको चुक्ता पूँजी १२ अर्ब ९४ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३ अर्ब ६७ करोड रुपैयाँ, रिजर्भ कोषमा १३ अर्ब ६१ करोड रुपैयाँ र शेयर प्रिमियम २३ करोड रुपैयाँ रहेको छ।
बैंकको खराब कर्जा ०.७० प्रतिशतबाट घटेर ०.६४ प्रतिशत कायम भएको छ भने प्रतिशेयर नेटवर्थ २३५ रुपैयाँ ४७ पैसा कायम भएको छ।