फोटोन ब्रान्डको ईभी माइक्रो दुर्घटना, दुई जनाको निधन हुँदा १४ जना घाइते

५ बैशाख २०८२, शुक्रबार १८:५७

काठमाडौं । कमजोर प्रविधि, ब्रेक फेल र नेपालजस्तो चुनौतीपूर्ण भूगोलमा परीक्षणबिना बजारमा ल्याइएका फोटोन ब्रान्डका विद्युतीय सवारीसाधनले सवारी सुरक्षामाथि गम्भीर प्रश्न उब्जिएको छ ।

शुक्रबार बिहान करिब १ बजे काठमाडौँबाट हेटौँडातर्फ गइरहेको फोटोन ब्रान्डको बा.प्र.०१–००६ ख ७०७२ नम्बरको विद्युतीय माइक्रोबस मकवानपुरगढी गाउँपालिका–२ स्थित कान्तिलोकपथ सडकखण्डबाट करिब २०० मिटर तल खस्दा दुःखद दुर्घटना भएको हो । सो घटनामा रौतहटकी निलमदेवी राउत र सर्लाहीकी १३ वर्षीया मानुसी मगरको मृत्यु भएको छ भने अन्य १४ जना यात्रु घाइते भएका छन् ।

चीनको फोटोन मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु वृद्धि कमर्सियल भेइकल प्रालिले फोटोनको विद्युतीय कार्गो भ्यान र स्कुल भ्यान नेपाली बजारमा ल्याएको छ । तर, यसै ब्रान्डको ईभी माइक्रोबस दुर्घटनामा परी दुई जनाको ज्यान गएको घटनाले यस कम्पनीको गुणस्तरप्रति गम्भीर चिन्ता उत्पन्न गराएको छ ।

दुर्घटनाको प्रारम्भिक कारण गाडीको ब्रेक फेल रहेको बताइएको छ । चालकले आफ्नो नियन्त्रण गुमाएपछि गाडी खसेको जनाइएको छ । घटनास्थल पुगेको प्रहरी टोलीका अनुसार गाडी पूर्ण रूपमा क्षतिग्रस्त अवस्थामा भेटिएको थियो । चालक २९ वर्षीय कमलबहादुर दर्लामी स्वयं पनि गम्भीर घाइते अवस्थामा उपचाररत छन् ।

फोटोनका गाडीहरू नेपालमा भित्रिन थालेको केही वर्ष मात्रै भएको हो । तर, सस्तो मूल्यमा बजार आकर्षण गर्न खोजिएका यी गाडीहरूमा प्रयोग गरिएको प्रविधि, ब्रेकिङ सिस्टम, ब्याट्री मेनेजमेन्ट र सुरक्षाका अन्य उपकरण गुणस्तरीय नभएको विभिन्न प्रयोगकर्ताहरूको अनुभवबाट पनि देखिँदै आएको छ । अझ, यस्तो कम्पनीले स्कुल भ्यान जस्ता संवेदनशील क्षेत्रका सवारी ल्याउने तयारी गरिरहेको सन्दर्भमा उपभोक्ता सुरक्षाबारे थप सतर्कता आवश्यक देखिन्छ ।

सडक सञ्जाल जटिल, भौगोलिक बनावट विकट र मौसमीय चुनौतीपूर्ण अवस्थामा विद्युतीय सवारी साधनले उच्च सुरक्षा मापदण्डमा खरा उत्रिनु आवश्यक हुन्छ । तर, नेपालमा गुणस्तरीय परीक्षण, मोडेल स्वीकृति, प्राविधिक मापदण्डको कडाइ र सरकारी नियमन अभावका कारण गुणस्तरहीन ब्रान्डका गाडी बजारमा खुलेआम बिक्री भइरहेका छन् ।

यस घटनाले विद्युतीय सवारी साधनप्रति आम जनमानसमा बढ्दै गरेको आशावादी दृष्टिकोणलाई शंका र त्रासमा बदल्न थालेको छ । अबको आवश्यकता भनेको सरकार र सम्बन्धित निकायले गम्भीर रूपमा ईभी गाडीको गुणस्तर परीक्षण, बजार अनुमतिका प्रक्रिया र सवारी सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नु हो । अन्यथा, यस्तो प्रविधिको अन्धाधुन्ध विस्तार उपभोक्ता जीवनका लागि खतरनाक बन्न सक्ने खतरा स्पष्ट देखिन थालेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*