अनुगमनमा भेटिए अनियमितता: दुई फर्मलाई कारवाही, दुईलाई कागजातसहित उपस्थित हुन निर्देशन

५ बैशाख २०८२, शुक्रबार १८:१३

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार विभिन्न उद्योग तथा फर्महरूमा गरेको अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ उल्लङ्घन गरेको पाइएपछि आवश्यक निर्देशन तथा कारवाही गरेको छ।

विभागका अनुसार काठमाडौं महानगरपालिका–१६ मा रहेको फास्टर शिल्कवे प्रा.लि.लाई व्यवसायसँग सम्बन्धित कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ। यस कम्पनीले व्यापार गर्दै आएका कस्मेटिक तथा न्युट्रास्युटिकल्सका सामग्रीहरूको नमूना समेत संकलन गरिएको छ।

यस्तै, काठमाडौं महानगरपालिका–१० मा रहेको सुमार्ग फार्मेसीमा समेत अनुगमन गरी त्यहाँ रहेका सामग्रीहरूको बिक्री वितरण रोक्का गरिएको छ। फार्मेसीलाई पनि व्यवसायसँग सम्बन्धित कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।

मध्यपुर थिमी नगरपालिका–५ मा रहेका आदित्य इन्टरप्राइजेज र राजेश हार्डवेयर्स प्रा.लि.लाई भने उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा २०(१) अनुसार कारवाही गरिएको विभागले जनाएको छ। राजेश हार्डवेयर्सलाई रु. ५०,००० जरिवाना गरिएको छ भने अबदेखि MRP सहितको लेबल टाँसी मात्र सामग्री बिक्री गर्न र ऐन अनुसार व्यवसाय सञ्चालन गर्न निर्देशन दिइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*