गभर्नर नियुक्तिमा दलबीच होइन, विचौलियाबीच तानातान भइरहेको छः प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गभर्नर नियुक्तिमा देखिएको जटिलता दलहरूबीच नभई विचौलियाबीचको तालमेल नहुँदाको परिणाम भएको बताएका छन्। बिहीबार प्रेस सेन्टर नेपालले रूपन्देहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले गभर्नर नियुक्ति प्रक्रियामा राजनीतिक दलहरूको भन्दा पनि स्वार्थ समूह र विचौलियाहरूको प्रभाव बढ्दै गएको आरोप लगाए।
‘गभर्नर नियुक्तिमा अहिले बिचौलियाबीच तानातान छ,’ प्रचण्ड भने, ‘जनतालाई लागिरहेको हुनसक्छ कि पार्टीबीच सहमति छैन, तर यथार्थमा बिचौलियाहरूबीच कुरा नमिलेकाले ढिलाइ भएको हो । कहिले कांग्रेस, कहिले एमालेलाई पकड्ने प्रयास भइरहेकाले टुंगो लागेको छैन ।’
प्रचण्डले अहिलेको परिस्थितिमा मेरिटोक्रेसीका आधारमा गभर्नर नियुक्त गर्नुपर्नेमा जोड दिए। उनले सरकारलाई अर्थतन्त्रमा देखा परेका समस्याहरूको समाधान गर्नका लागि योग्य र सक्षम नेतृत्व दिन सुझावसमेत दिए।
संविधान संशोधनबारे समेत प्रचण्डले धारणा राख्दै संशोधन अधिकार खोस्ने उद्देश्यले नभई थप अधिकार दिने गरी हुनुपर्ने बताएका छन्। उनले संविधानलाई लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने दस्तावेजका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए। ‘संविधान संशोधन अधिकार खोस्ने गरी होइन, थप अधिकार दिने गरी गरिनुपर्छ,’ उनले भने।
कार्यक्रमका क्रममा उनले माओवादी केन्द्रले सुरु गरेको तराई राजमार्ग अभियान झापाबाट सुरु भई जनस्तरमा ठूलो उत्साह पैदा गरेको बताए। राजमार्ग वरपरको क्षेत्र घुम्दा जनताको जीवनस्तर, शिक्षा, स्वास्थ्य र पर्यटनका समस्यालाई नजिकबाट बुझ्न सकेको भन्दै उनले यो अभियान सरकारलाई दबाव दिने उद्देश्यले सञ्चालन गरिएको उल्लेख गरे।
पत्रकार सम्मेलनमा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’, पूर्व सभामुख कृष्णबहादुर महरा, अग्नि सापकोटा, लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री जोखबहादुर महरा, माओवादी केन्द्रका महासचिव देब गुरुङलगायत नेताहरूको उपस्थिति रहेको थियो। प्रचण्डसहितको केन्द्रीय टोली रूपन्देहीका विभिन्न कार्यक्रममा सहभागी हुँदै अभियानलाई अगाडि बढाइरहेको छ।