शेयर बजारमा रौनकः कारोबारमा देखियो चमक, बुलको यात्रा तय भएको हो ?

काठमाडौँ । नयाँ आर्थिक वर्ष २०८२ को आरम्भसँगै नेपालको शेयर बजारमा सुधारको संकेत देखिएको छ । नेप्से परिसूचक लामो समयदेखि २५ सयदेखि २८ सयको दायरा वरपर सीमित रहेपनि, लगानीकर्ताहरु बजारलाई साइडवेज अर्थात स्थिर अवस्थामा रहेको ठानिरहेका छन् । बजार न त धेरै ओर्लिएको छ न त उल्लेख्यरूपमा उकालो लागेको देखिन्छ, जसका कारण लगानीकर्ताहरूले समग्र प्रवृत्तिलाई सकारात्मक मानेका छन् ।
बैंकिङ प्रणालीमा हाल ब्याजदर ऐतिहासिक रूपमै न्यून विन्दुमा झरेको छ। निक्षेपमा आकर्षण कम हुँदै जाँदा, धेरैजसो लगानीकर्ता शेयर बजारतिर आकर्षित भएका छन्। त्यसमाथि तरलताको प्रशस्त उपलब्धताले गर्दा बैंकहरू धितो कर्जामा झनै सक्रिय बनेका छन्। यसले व्यक्तिगत र संस्थागत लगानीकर्ताहरूलाई सहज रूपमा सस्तो ब्याजदरमा कर्जा लिएर सेयर किन्न प्रेरित गरिरहेको छ ।
सस्तो मूल्यमा कारोबार भइरहेका बलिया कम्पनीहरूको सेयरप्रति लगानीकर्ताको आकर्षण उल्लेखनीय देखिएको छ । राम्रो लाभांश क्षमता र बलिया वित्तीय आधार भएका कम्पनीमा लगानी गर्दा दीर्घकालीन लाभ लिने सम्भावना धेरै रहेको विश्लेषकहरूको भनाइ छ । यस्ता कम्पनीका सेयरहरू बैंकबाट सहज रूपमा धितो राख्न मिल्ने भएकाले पनि तिनीहरूको माग बढ्दो छ।
तर, राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्तिको विषयलाई लिएर दलहरूबीचको खिचातानी र संभावित सरकार परिवर्तनको चर्चाले लगानीकर्ताको मनोबलमा अलिकति संकोच ल्याएको छ। लगानीकर्ताहरूले पुँजीबजार मैत्री गभर्नर आउने अपेक्षामा छन्। उनीहरू राष्ट्र बैंकको नीतिगत भूमिकाले शेयर बजारमा पर्ने प्रत्यक्ष प्रभावलाई लिएर ’पर्ख र हेर’को रणनीति अपनाइरहेका छन्। आगामी दिनमा राष्ट्र बैंकको नेतृत्व कसले लिन्छ र त्यसले बजारप्रति कस्तो धारणा लिन्छ भन्ने कुराले नेप्सेको दिशालाई अझ स्पष्ट बनाउने विश्वास गरिएको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २८.९७ अकंले बढेर २७२५.२० बिन्दुमा कायम भएको छ । आज ३११ कम्पनीको २ करोड ३७ लाख ७३ हजार कित्ता शेयर किनबेच हुँदा १० अर्ब ७९ करोडको कारोबार भएको छ ।
यसदिन १३ वटै उपसूचकमा हरियाली आएको छ । आज१८७ कम्पनीको शेयर मूल्य बढेको छ भने ५९ कम्पनीको घटेको छ ।