बीवाईडीको विद्युतीय सवारीमा विस्तारिएको वारेन्टी: अब १० वर्षसम्मको सुनिश्चित सुरक्षा

काठमाडौं । विद्युतीय सवारीको क्षेत्रमा अग्रणी ब्रान्ड बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इन्क प्रा.लि.ले नेपाली बजारमा नयाँ र विस्तारित वारेन्टी नीति लागू गर्ने घोषणा गरेको छ। कम्पनीले नेपालमा बिक्री भएका सबै बीवाईडी ईभीमा यो नीति तत्काल लागू हुने जनाएको छ। यो निर्णय विद्युतीय सवारी साधनका ग्राहकलाई अझ बढी आत्मविश्वास दिलाउने उद्देश्यले गरिएको हो।
कम्पनीले ग्राहक सन्तुष्टि र विश्वासलाई सर्वोच्च प्राथमिकता दिँदै विद्युतीय गाडीका विभिन्न प्रमुख कम्पोनेन्टहरूमा वारेन्टी अवधि अभूतपूर्व रूपमा विस्तार गरेको हो। अहिलेको नयाँ नीतिअनुसार, ब्याट्रीमा १० वर्ष वा २ लाख किलोमिटर, मोटरमा पनि १० वर्ष वा २ लाख किलोमिटर, होल भेइकलमा ५ वर्ष वा १ लाख २५ हजार किलोमिटर, र अन्य सामान्य पार्ट्समा ७.५ वर्ष वा १ लाख ८७ हजार ५ सय किलोमिटरसम्मको वारेन्टी सुविधा लागू गरिएको छ। यसअघि यी सबै वारेन्टी सीमा कम थिए।
यस वारेन्टी नीतिले बीवाईडीको प्रविधिमा भएको आत्मविश्वास झल्काउने कम्पनीको दाबी छ। कम्पनीका अनुसार नयाँ नीति विद्युतीय गाडीको अपनत्वलाई झन् सहज, सुरक्षित र चिन्तामुक्त बनाउने गरी डिजाइन गरिएको छ। दीर्घकालीन वारेन्टी सुविधा ग्राहकका लागि एक प्रकारको ग्यारेन्टी मात्र नभई दीर्घकालीन समर्पणको प्रमाण पनि हो।
यो विषयमा बोल्दै साइमेक्स इन्कका सीईओ साहिल श्रेष्ठले बीवाईडीको अत्याधुनिक प्रविधिमा आधारित विद्युतीय गाडीप्रति आफ्नो विश्वास अझ बलियो भएको बताए। उनले भने, “हाम्रो यो एक्सटेन्डेड वारेन्टी नीतिले ग्राहकमा दीर्घकालीन सम्बन्ध र विश्वास निर्माण गर्न मद्दत गर्नेछ। विद्युतीय सवारीतर्फको विश्वव्यापी संक्रमण तीव्र गतिमा भइरहेको अवस्थामा नेपालमा पनि हामी त्यही यात्राको अगुवा बन्न चाहन्छौं।”
साइमेक्सले नेपालको १३ भन्दा बढी स्थानमा अत्याधुनिक सर्भिस सेन्टर स्थापना गरी विक्रीपछिको सेवालाई अझ सुदृढ बनाउँदै आएको छ। साथै, कम्पनीको बिस्तारोन्मुख चार्जिङ नेटवर्कले गर्दा बीवाईडी गाडी प्रयोगकर्तालाई जहाँसुकै सहज सेवा उपलब्ध हुने व्यवस्था मिलाइएको छ।