सस्तो ब्याजमा ऋण लिएर ‘घर-घडेरी’ बनाउने बढेः अधिकांश बैंकले बढाए लगानी, कुनले कति दिए कर्जा?

काठमाडौँ । सर्वसाधारण बैंकबाट कर्जा लिएर घर बनाउनेतर्फ आकर्षित हुँदै गएका छन् । पछिल्ला केही वर्ष सुस्त बनेको व्यक्तिगत आवासीय कर्जाको क्षेत्र अहिले पुनः सक्रिय हुँदै गएको छ । बैंक तथा वित्तीय संस्थाहरूले घर निर्माण र खरिदका लागि उपलब्ध गराउँदै आएका कर्जामा उल्लेखनीय वृद्धि देखिएको छ । यसले निर्माण क्षेत्रलाई मात्र होइन, समग्र आर्थिक चक्रलाई नै चलायमान बनाउन थालेको छ ।
घरजग्गा क्षेत्रमा कर्जा प्रवाह बढाउन नेपाल राष्ट्र बैंकले समेत लचक नीति अपनाएको छ । अघिल्लो वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षामा ५० लाख रुपैयाँभन्दा माथिको कर्जाको जोखिमभार १५० प्रतिशतबाट घटाएर १२५ प्रतिशतमा ल्याइएको थियो । यस्तै, चालु वर्षको तेस्रो त्रैमासिक समीक्षाले ऋणीको आम्दानीको ७० प्रतिशतसम्म रकम कर्जाको साँवा–ब्याज भुक्तानीमा प्रयोग गर्न सकिने व्यवस्था गरिदिएको छ । यसले पनि बैंकहरूलाई आवास कर्जा प्रवाहमा सहज बनाएको छ ।
बैंकहरूले २ करोड रुपैयाँसम्मको व्यक्तिगत आवासीय कर्जा दिने प्रावधान ल्याएपछि धेरै नागरिक आफैंले घर बनाउने सपना पुरा गर्न बैंकको ढोका ढकढकाउन थालेका छन् । सस्तो ब्याजदर र आवश्यक कागजात पेस गरेर सहजै कर्जा लिन सकिने प्रणालीका कारण पनि यो प्रवृत्ति बढेको हो । अब धेरैले घर बनाउन वा किन्ने सोच राख्नासाथ पहिला बैंकको योजना अध्ययन गर्न थालेका छन् ।
बैंकिङ प्रणालीमा तरलता पर्याप्त रहेको वर्तमान अवस्थामा कर्जा प्रवाह सहज भएको हो । हाल बैंकहरूले निक्षेपमा तिर्दै आएको ब्याजदर घटेका कारण कर्जाको लागत घटेको छ । यसले गर्दा घर कर्जामा लगाइने ब्याजदर पनि घटेको छ । सस्तो ब्याजदरका कारण कर्जाको किस्ता व्यवस्थापन गर्न सहज भएका कारण मानिसहरू आफूले भोगचलन गर्ने घर किन्ने वा बनाउनेतर्फ अग्रसर भएका छन् । बैंकहरूले प्रतिस्पर्धात्मक रूपमा विभिन्न आकर्षक योजना ल्याइरहेका छन् । एकल अंकमा सीमित ब्याजदर, स्थायी ब्याजदर योजना, निर्माण सम्पन्न हुनुअघि किस्ता नतिर्नु पर्नेजस्ता सुविधाहरूले नागरिकलाई बैंक कर्जामार्फत घर बनाउन थप प्रेरित बनाएको छ । यसले कर्जा बजारमा प्रतिस्पर्धा बढाएको छ भने बैंकहरूको खुद कर्जा प्रवाहमा पनि सकारात्मक असर परेको छ ।
नागरिकले बिस्तारै आफ्ना आवश्यकतालाई मध्यनजर गर्दै दीर्घकालीन सोचका साथ लगानी गर्न थालेका छन् । व्यक्तिगत आवासीय कर्जाको बढ्दो मागले निर्माण सामग्री, श्रम, साजसज्जा र आवास विकास कम्पनीहरूलाई समेत गति दिएको छ । यसले समग्र आर्थिक वृद्धिमा समेत योगदान दिन सक्ने अनुमान गरिएको छ । वर्तमान अवस्थामा घर कर्जाको प्रवाह आर्थिक पुनरुत्थानको संकेतको रूपमा हेरिएको छ ।
चालु आर्थिक वर्षको आठ महिना वाणिज्य बैंकहरुले ब्यक्तिगत घर बनाउनका लागि ३ खर्ब २२ अर्ब ५२ करोड २१ लाख रुपैयाँ कर्जा दिएका छन् । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ४.४० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको आठ महिनामा बैंकहरुले ३ खर्ब ८ अर्ब ९३ करोड ५७ लाख रुपैयाँ घर कर्जा दिएका हुन् ।
चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा व्यक्तिगत घर बनाउनका लागि सर्वाधिक कर्जा दिनेमा एनआइसी एशिया बैंक रहेको छ । बैंकले ५० अर्ब ६६ करोड ५९ लाख कर्जा प्रदान गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा १८.२० प्रतिशतले कम हो ।
सर्वाधिक ब्यक्तिगत घर कर्जा दिने दोसा्रे नम्बरमा ग्लोबल आइएमई बैंक रहेको छ । चालु आर्थिक वर्षको आठ महिनामा ग्लोबल आइएमईले ब्यक्तिगत घर कर्जा २७.९७ प्रतिशतले बढेर ३८ अर्ब ५० करोड ५८ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले समिक्षा अवधिसम्ममा ब्यक्तिगत घर कर्जा मार्फत २७ अर्ब ७९ करोड ६५ लाख रुपैयाँ दिएको छ । नबिल बैंकले ब्यक्तिगत घर कर्जा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १२.३५ प्रतिशतले बढेर २७ अर्ब ३६ करोड, एभरेष्ट बैंकको २२ अर्ब ७७ करोड, एनएमबि बैंकको १७ अर्ब, सिद्धार्थ बैंकको १३ अर्ब ७२ करोड, प्रभु बैंकको १३ अर्ब ४३ करोड, कुमारी बैंकको १२ अर्ब ५५ करोड, कृषि विकास बैंकको १० अर्ब ९२ करोड र नेपाल बैंकको १० अर्ब ६८ करोड पुगेको छ ।
व्यक्तिगत घर बनाउनका लागि सिटिजन्स बैंकले १० अर्ब ५७ करोड, सानिमा बैंकले ९ अर्ब ८२ करोड, स्टान्र्डड चार्टड बैंकले ८ अर्ब ६१ करोड, प्राइम बैंकले ८ अर्ब ५० करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ७ अर्ब ३९ करोड, माछापुच्छ्रे बैंकले ६ अर्ब ५२ करोड, हिमालयन बैंकले ४ अर्ब ९७ करोड र नेपाल एसबिआई बैंकले २ अब ३७ करोड रुपैयाँ कर्जा दिएको हो ।