गार्डियन माइक्रो लाइफको शेयर मूल्यमा चलखेल !

काठमाडौँ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा नियोजित चलखेल भएको आशंका उब्जिएको छ । नेपाल बीमा प्राधिकरणले विशेष साधारण सभा स्थगन गर्दै हकप्रद शेयर निष्कासनको अनुमति नदिएपनि कम्पनीको शेयर मूल्य उच्च दरमै कारोबार भइरहेको छ ।
हकप्रद शेयरको घोषणा हुने आशामा मूल्य उकासिएको देखिएपनि त्यसपछि प्राधिकरणको हस्तक्षेपले हकप्रद स्थगन गराएपछि पनि मूल्य घट्नुको सट्टा बढ्नुले शंका झन बलियो बनाएको हो ।
बीमा प्राधिकरणले चैत १८ गतेका लागि डाकिएको विशेष साधारण सभाको विषयमा २८ गते कम्पनीलाई स्पष्टीकरण सोधेको थियो । सो स्पष्टीकरण चित्तबुझ्दो नभएपछि सभा स्थगन गर्ने निर्देशन दिइएको हो । यसअघि कम्पनीले १:१ अनुपातमा हकप्रद शेयर ल्याउने तयारी गरिरहेको जानकारी गराएको थियो । यही सूचनाको भरमा धेरै लगानीकर्ताले शेयर किनेर मूल्य उच्च बनाएका थिए ।
तर, नियामकले नै रोकेको अवस्था र पछिल्लो मूल्य वृद्धिबीचको अन्तरले कम्पनीको शेयर मूल्यमा गम्भीर चलखेल भइरहेको प्रष्ट देखिएको छ । यसले साना लगानीकर्तालाई जोखिममा पार्न सक्ने देखिएको छ ।