एलजी ब्रान्डको पकड बलियो बन्दै, चौधरी ग्रुपको सिजी इम्पेक्सको वार्षिक कारोबार ७ अर्ब नाघ्यो

४ बैशाख २०८२, बिहीबार ११:५९

काठमाडौँ । नेपाली बजारमा उपभोक्ता विद्युतीय सामग्रीको माग लगातार बढ्दै गएको छ । यस क्षेत्रमा सिजी इम्पेक्स प्राइभेट लिमिटेडको प्रभुत्व थप बलियो भएको देखिन्छ । सन् २००४ मा स्थापना भएको यस कम्पनीले एलजी ब्रान्डका उपभोक्ता विद्युतीय सामग्री र गृह उपकरणहरूको एकमात्र आधिकारिक आयातकर्ता र वितरकको रूपमा नेपाली बजारमा आफ्नो पहिचान बनाएको छ । एलजीसँगै कम्पनीले सीजी ब्रान्डका उत्पादनहरू पनि वितरण गर्दै आएको छ, जसको कारण बजारमा यसको उपस्थिति अझ प्रगति भएको छ ।

सिजी इम्पेक्सले ब्ल्याक एन्ड डेकर, क्रम्पटन र पिजनजस्ता अन्य अन्तर्राष्ट्रिय ब्रान्डहरूको उत्पादन सूचीमा समावेश गरी नेपाली उपभोक्तामा विविधता पनि ल्याएको छ । कम्पनीका यी ब्रान्डहरू नेपाली उपभोक्ताले निकै रुचाइरहेका छन्, जसले कम्पनीलाई निरन्तर वृद्धि र स्थिरता प्राप्त गर्न सहयोग पु¥याएको छ ।

चौधरी समूह अन्तर्गत सञ्चालनमा रहेको सीजी इम्पेक्समा निर्वाण चौधरीको ८५ प्रतिशत र वरुण चौधरीको १५ प्रतिशत स्वामित्व रहेको छ । इक्रा नेपालले हालै सार्वजनिक गरेको पाँच वर्षको अडिट गरिएको वित्तीय विवरण हेर्दा यसले स्थायीत्व, मुनाफा, वित्तीय अनुशासन तथा दीर्घकालीन कारोबारी योजना सफलता पूर्वक कार्यान्वयन गर्दै आएको प्रष्ट देखिएको हो ।

सञ्चालन आम्दानी सन् २०२० कम्पनीले झण्डै चार अर्ब रुपैयाँ रहेको थियो भने त्यसपछि क्रमशः वृद्धि हुँदै गएको देखिन्छ । सन् २०२१ मा यो आम्दानी ६ अर्ब ४४ करोड रुपैयाँ पुगेको थियो भने २०२२ मा झण्डै ७ अर्ब ८७ करोड रुपैयाँमा उक्लिएको थियो । यद्यपि २०२३ मा थोरै घट्दै ६ अर्ब ५२ करोडमा झरेको थियो, सन् २०२४ मा भने पुनः सुधार हुँदै ७ अर्ब १५ करोड रुपैयाँ पुगेको छ ।

सञ्चालन नाफाको अनुपात पनि कम्पनीका लागि सन्तोषजनक देखिन्छ । पाँच वर्षअघि ९.६ प्रतिशतको हाराहारीमा रहेको नाफा अनुपात क्रमशः बढ्दै आर्थिक वर्ष सन् २०२२ मा १७.९ प्रतिशत पुगेको थियो । पछिल्ला दुई वर्षमा केही घटे तापनि १३.९ र १२ प्रतिशतको अनुपातमा सञ्चालन नाफा कायम रहनु कम्पनीको वित्तीय सुदृढताको संकेत हो ।

कम्पनीले ऋणमा आफ्नो निर्भरता उल्लेखनीय रूपमा घटाएको छ । कुल ऋण र मुख्य पूँजीको अनुपात सन् २०२० मा २.८ गुणा थियो, जुन घट्दै सन् ०२२ मा १.१ र २०२३ मा ०.७ मा झर्यो । पछिल्लो वर्ष यो मात्र ०.४ गुणामा झरेको छ । बाह्य दायित्वको अनुपात पनि पाँच वर्षअघि ३.९ गुणा रहेकोमा हाल ०.८ गुणामा झरेको छ ।
कम्पनीको ऋण तिर्ने क्षमता पनि प्रशंसनीय देखिन्छ । कुल ऋण र सञ्चालन नाफाको अनुपात पाँच वर्षअघि चार गुणा थियो भने अहिले १.१ गुणामा झरेको छ । ब्याज भुक्तानी क्षमतामा समेत सुधार आएको छ । २०२० मा कम्पनीले प्राप्त नाफाको आधारमा ब्याज भुक्तानी ३.४ गुणा गर्न सकेको थियो भने हाल ७.४ गुणा गर्न सक्ने अवस्थामा पुगेको छ ।

सिजी इम्पेक्स प्राइभेट लिमिटेडको दीर्घकालीन रेटिङ हटाइएको छ भने छोटोकालीन रेटिङ पुष्टि गरिएको छ । इक्रा नेपालले कम्पनीको दीर्घकालीन ऋण सिमाको रेटिङ इक्राएएनपीे एल३बीबी (इक्रा एनपी एल ट्रिपल बी) हटाएको जानकारी दिएको छ । यस रेटिङका अन्तर्गत कम्पनीको २०० मिलियन नेपाली रुपैयाँको दीर्घकालीन ऋण सिमा समावेश गरिएको थियो । साथै, छोटोकालीन ऋण सिमामा ३,९०० मिलियन नेपाली रुपैयाँको रेटिङलाई इक्राएनपीे ए३+ (इक्रा एनपी ए थ्री प्लस) मा पुनः पुष्टि गरिएको छ । कम्पनीको छोटोकालीन रेटिङमा पुष्टि गरिएको ३,९०० मिलियन नेपाली रुपैयाँको ऋण सिमा भनेको छोटो अवधिको वित्तीय आवश्यकताहरूका लागि कम्पनीलाई सहारा पुर्याउँछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*