पाकिस्तानमा भीषण असिना वर्षाले हजारौं सवारी साधन र घरमा क्षति, बीमा दाबी करोडौंको पुग्ने अनुमान

४ बैशाख २०८२, बिहीबार ११:२०

काठमाडौँ ।  पाकिस्तानको राजधानी इस्लामाबाद र वरपरका क्षेत्रहरूमा बुधबार बेलुकी आएको तीव्र असिना वर्षासँगैको भारी वर्षाले दैनिक जनजीवन अस्तव्यस्त भएको छ। वर्षासँगै परेका ठूलाठूला असिनाका कारण सयौं सवारीसाधनको सिसा फुटेको छ भने घरका झ्यालहरू समेत क्षतिग्रस्त भएका छन्।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा असिना पानीसँगै जमिनमा खसिरहेको देखिन्छ, जसले सवारी साधनहरूमा गम्भीर क्षति पुर्याएको छ। केही स्थानमा घरभित्रको झ्यालको सिसा फुटेर भित्रै पानी पसेको बताइएको छ।

इस्लामाबाद जिल्ला प्रशासनले आपतकालीन टोली खटाइएको जनाएको छ। सडकमा जम्मा भएको पानी हटाउन तथा ट्राफिक व्यवस्थापनका लागि उद्धारकर्मीहरूलाई खटाइएको जनाइएको छ। ‘असिना वर्षाले पुर्याएको क्षतिको मूल्यांकन भइरहेकै छ’ प्रशासनका प्रवक्ताले भने ‘विभिन्न स्थानमा सवारी र घरको झ्याल फुटेको रिपोर्ट आएका छन्।’

इस्लामाबादको फेमस रेड जोनमा बसोबास गर्ने अहमद कुरेशीले आफ्नो गाडीमा ठूलो क्षति भएको बताएका छन्। ‘मेरो गाडीको विन्डसक्रीन, साइड मिरर र झ्याल मर्मत गर्न करिब ५०,००० रूपैयाँ (झन्डै १७८ डलर) लाग्नेछ’ उनले बताए। असिनाले गाडीमा पारेको डेन्ट हटाउन समेत रङ्ग र मर्मत आवश्यक पर्ने उनले बताए।

फैसल मस्जिदमा नमाज पढ्दै गरेका मुस्लिम श्रद्धालुहरू नजिकैको छानामा रहेका सौर्य प्यानलहरू फुटेको तथा सिसाका टुक्राहरू मेटमा छरिएको दृश्यसमेत देखिएको छ। यसले धार्मिक स्थलको पूर्वाधारलाई समेत क्षति पुर्याएको छ। घटनापछि इस्लामाबादको जी–६ मार्काजस्थित मेकानिक पसलहरूमा नयाँ सिसा किन्न आउनेको भीड लागेको छ। मेकानिक मुहम्मद अलिले टयोटा र होन्डा ब्रान्डका गाडीका लागि तीन प्रकारका सिसाहरू उपलब्ध रहेको बताए, जसको मूल्य १६ हजारदेखि ३८ हजार रूपैयाँसम्म पर्न सक्छ। ‘एकवटा सिसा झण्डै २० मिनेटमै फेर्न सकिन्छ’ उनले भने। तर अहिले सिसा आपूर्तिकर्तासँग सम्पर्क हुन नसकेको जनाइएको छ।

पाकिस्तान मौसम विभागले बुधबार साँझ इस्लामाबाद, रावलपिन्डी, अटक तथा पंजाबका अन्य क्षेत्रहरूमा वर्षासँगै गडगडाहटसहितको मौसम पूर्वानुमान गरेको थियो। भीषण असिना र वर्षाका कारण बीमा कम्पनीहरूमा करोडौं रूपैयाँ बराबरको दाबी पर्न सक्ने अनुमान गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*