चीन-अमेरिका व्यापार युद्ध: अमेरिकाले लगायो २४५% कर, चीनले भन्यो, ‘लड्न चाहँदैन तर डराउँदैन’

३ बैशाख २०८२, बुधबार १७:४२

काठमाडौँ ।  चीनबाट अमेरिकामा निर्यात हुने वस्तुहरूमा अब अधिकतम २४५ प्रतिशतसम्म भन्सार महसुल लाग्ने भएको छ। ह्वाइट हाउसले मंगलबार राति सार्वजनिक गरेको तथ्यपत्रअनुसार चीनका आक्रामक कदमहरूको जवाफस्वरूप अमेरिकाले यस्तो निर्णय गरेको हो।

ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘चीनका प्रतिशोधात्मक कार्यहरूका कारण अब उसले अमेरिका निर्यात गर्दा २४५ प्रतिशतसम्म भन्सार महसुल भोग्नुपर्नेछ।’ अमेरिकाले यो निर्णय राष्ट्रिय सुरक्षाका आधारमा गरिएको बताएको छ।

यो विवाद तीव्र रूपमा बढेको छ विशेष गरी यस महिनाको सुरुमा अमेरिकाले चिनियाँ वस्तुहरूमा १४५ प्रतिशतसम्मको भन्सार महसुल लगाएकोपछि त्यसको जवाफमा चीनले पनि अमेरिकी सामानहरूमा १२५ प्रतिशत महसुल लगाएको थियो । उच्च प्रविधि तथा सुरक्षासँग सम्बन्धित खनिजको निर्यातसमेत कडाइ गरेको थियो।

अमेरिकाको पछिल्लो निर्णय राष्ट्रिय सुरक्षासँग सम्बन्धित आयातको समग्र समीक्षाको परिणामस्वरूप आएको हो, जसमा चीनले दुर्लभ खनिजमा देखाएको पकडलाई लक्ष्य गरिएको छ। ह्वाइट हाउसले भनेको छ, ‘यसै सातामा चीनले छवटा हेभी रियर अर्थ मेटल्स र दुर्लभ पृथ्वी चुम्बकको निर्यात रोकेको छ जसको उद्देश्य अटोमोबाइल, अन्तरिक्ष उड्डयन, अर्धचालक र सैन्य उत्पादन क्षेत्रका लागि आपूर्ति रोक्नु हो।’

चीनले यसअघि ग्यालियम, जर्मेनियम र एन्टिमोनीजस्ता रणनीतिक र सैनिक महत्व भएका सामग्रीहरूको निर्यातमा समेत प्रतिबन्ध लगाइसकेको छ। जबकि अधिकांश मुलुकहरूसँगको व्यापार वार्ताका क्रममा अमेरिकाले भन्सार महसुल स्थगित गरेको छ, चीनको प्रतिशोधका कारण यस्तो कदम चाल्नु परेको अमेरिकाले स्पष्ट पारेको छ। ‘७५ भन्दा बढी देशले नयाँ व्यापार सम्झौताका लागि पहल गरिसकेका छन् तर चीनले प्रतिशोध मात्र देखायो’ वक्तव्यमा भनिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘अमेरिका फर्स्ट’ व्यापार रणनीतिलाई उद्धृत गर्दै ह्वाइट हाउसले फेरि दोहोर्‍याएको छ, ‘यो नीति अमेरिकाको अर्थतन्त्रलाई फेरि महान बनाउनकै लागि हो।’

यता चीनले पनि बलियो प्रतिक्रिया दिँदै भनेको छ, ‘चीन लड्न चाहँदैन, तर डराउँदैन पनि।’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्त्ता लिन जियानले भने, ‘अमेरिकाले अत्यधिक दबाब र धम्की दिन छोड्नुपर्छ। यदि अमेरिका साँच्चिकै समस्याको समाधान चाहन्छ भने समानता, सम्मान र पारस्परिक लाभको आधारमा चीनसँग संवाद गर्नुपर्छ।’

राष्ट्रिय सुरक्षासम्बन्धी अनुसन्धान प्रक्रिया अगाडि बढिरहेका बेला थप भन्सार महसुल वा निर्यात नियन्त्रण लाग्ने नलाग्नेबारे अमेरिकाले अझै प्रस्ट पारेको छैन। तर राष्ट्रपति ट्रम्पको भनाइ प्रेस सचिव क्यारोलिन लेभिटले सार्वजनिक गर्दै भनिन्, ‘अब बल चीनको कोर्टमा छ। चीनले हामीसँग सम्झौता गर्नैपर्छ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*