पुँजी बजार सुधारका लागि सेबोन, नेप्से र सिडिएससीबीच समन्वयात्मक छलफल

काठमाडौं । नेपालको पुँजी बजारलाई थप व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यले नेपाल धितोपत्र बोर्ड (सेबोन), नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससी) बिच समन्वयात्मक छलफल भएको छ।
बुधबार ललितपुरको खुमलटारस्थित बोर्डको केन्द्रीय कार्यालयमा सम्पन्न उक्त छलफलमा सेबोनका अध्यक्ष सन्तोष नारायण श्रेष्ठ, नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाई र सिडिएससीका प्रबन्ध सञ्चालक प्रविन पण्डा सहभागी थिए।
बैठकमा समग्र पुँजी बजारको सुधार, बजारसँग सम्बन्धित प्रणालीहरूको प्रविधि अभिवृद्धि, बजार परिचालनमा देखिएको समन्वय अभावको समाधान तथा नियमन, सूचीकृत कम्पनीको सुपरीवेक्षण र लगानीकर्ताको हित जस्ता विषयमा गहन छलफल भएको जनाइएको छ।
बोर्डका नियमन विभाग प्रमुख मुक्तिनाथ श्रेष्ठ र सुपरीवेक्षण विभाग प्रमुख रूपेश के.सी समेत सहभागी उक्त छलफलमा तीनै निकायबीच आगामी दिनमा नियमित रूपमा यस्ता समन्वयात्मक बैठक आयोजना गर्ने सहमति भएको छ।