नाइमाद्वारा ‘नेपाल मोबिलिटी शो २०२५’ साउन २१ गतेदेखि, भृकुटीमण्डपमा आयोजना हुने

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा) ले आगामी साउन २१ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा ‘नेपाल मोबिलिटी शो २०२५’ आयोजना गर्ने घोषणा गरेको छ। नाइमा गठन भएको एक महिनामै यस्तो भव्य प्रदर्शनीको घोषणा गरिएको हो।
नाइमा नाडाभित्र लामो समयदेखि देखिँदै आएको ‘निषेधको राजनीति’ प्रति असन्तुष्टि जनाउँदै गत महिना गठन गरिएको हो। करिब पाँच दशकको इतिहास बोकेको नेपाल अटोमोबाइल डिलर्स एशोसिएसन (नाडा) बाट अलग भएर निर्माण गरिएको नाइमा पहिलोपटक स्वतन्त्र रूपमा यस्तो प्रदर्शनी गर्न लागेको हो।
‘नेपाल मोबिलिटी शो २०२५’ को संयोजकको जिम्मेवारी गौरव सारडालाई दिइएको छ। संयोजक सारडाले कार्यक्रममै एक्स्पोको लोगो सार्वजनिक गरे। पाँच दिनसम्म चल्ने यस प्रदर्शनीमा अग्रणी अटो ब्रान्डहरू, नयाँ प्रविधि र विद्युतीय सवारीसाधनका आकर्षक मोडेलहरू प्रस्तुत गरिने नाइमाको भनाइ छ।
नाइमाका अनुसार, प्रदर्शनी सहभागी कम्पनीहरूलाई यसपटक २५ प्रतिशत कम शुल्कमा व्यवस्थित स्टल उपलब्ध गराइनेछ। यसबाहेक मिडिया तथा व्यवसायिक प्रतिनिधिका लागि छुट्टै दिन तोक्ने, अवलोकनकर्ताका लागि कम मूल्यको प्रवेश टिकट उपलब्ध गराउनेलगायतका सुविधाहरू प्रदान गरिनेछ।