चीनले बोइङ सम्झौताबाट पछि हटेपछि ट्रम्प प्रशासनको प्रतिक्रिया : ‘कर वृद्धिबारे निर्णय अब चीनको हातमा’

काठमाडौँ । अमेरिका र चीनबीचको व्यापारिक सम्बन्ध फेरि तनावपूर्ण मोडमा पुगेको छ। पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले अमेरिकी विमान निर्माता कम्पनी बोइङसँगको सम्झौता तोडेको आरोप लगाएका छन्। त्यसपछि ह्वाइट हाउसबाट जारी भएको वक्तव्यमा चीनले अब वार्ताको टेबुलमा आउँने वा नआउने निर्णय लिनुपर्ने बताइएको छ।
‘अब बल चीनको कोर्टमा छ। सम्झौता गर्नुपर्ने हो भने चीनले हामीसँग आउनुपर्छ, हामी बाध्य छैनौं’ प्रेस सचिव कारोलिन लेभिटद्वारा पढिएको वक्तव्यमा उल्लेख छ। ट्रम्प प्रशासनले स्पष्ट रूपमा चीनमाथि व्यापारिक असहयोगको आरोप लगाएको हो।
वक्तव्यमा विश्वव्यापी व्यापार सम्बन्धमा भूगोलबाहेक अन्य कुनै भिन्नता नरहेको पनि उल्लेख गरिएको छ। लेभिटले भनिन्, ‘चीन होस् वा अरू कुनै राष्ट्र, अन्तर केवल आकारको हो, व्यापारिक हिसाबले सबैलाई एउटै व्यवहार हुने नीति अमेरिकाको हो।’
यसबीच ब्लुमबर्गको एक रिपोर्टले चीनले आफ्ना एयरलाइन्सहरूलाई बोइङका विमानहरू थप नल्याउन आदेश दिएको खुलासा गरेको छ। सो निर्णयपछि अमेरिका–चीनबीचको व्यापार वार्ता फेरि अनिश्चित भएको संकेत देखिएको छ।
चीनको पछिल्लो निर्णयलाई ट्रम्प प्रशासनले अमेरिकाप्रति गैर-मैत्रीपूर्ण कदमका रूपमा लिएको छ। बोइङ सम्झौता रद्द भएपछि अमेरिकी उद्योग र रोजगारमा असर पर्ने भन्दै चिन्ता व्यक्त गरिएको छ।