आइएमई इन्टनेशनल मोनि एक्सप्रेसको पिपल्ला शाखामा सेवा अवरुद्ध, सेवाग्राही हैरान

डोटी। डोटीको पिपल्लामा रहेको आइएमई इन्टनेशनल मोनि एक्सप्रेसको शाखामा समस्या देखिएपछि सेवाग्राही मर्कामा परेका छन्। बसपार्क जाने बाटोमै रहेको सो शाखामा बिहानैदेखि सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई रकम झिक्न सकस भएको छ।
बिहान १० बजेदेखि नै रकम झिक्न आएका सेवाग्राहीहरू शाखाबाट निराश फर्किन बाध्य भएका छन्। सेवा लिन आएका एक स्थानीयवासीले भने, ‘घरको सबै काम छाडेर बिहानैदेखि पैसा झिक्न आएको थिएँ, तर शाखामा गएपछि कति बेला पैसा छैन भन्यो, कति बेला सिस्टम डाउन भएको भन्दै बहाना बनाइरह्यो।’
शाखामा सेवाग्राहीको भीड देखिन्थ्यो, तर भुक्तानी प्रक्रिया अघि नबढ्दा कतिपय सेवाग्राही आक्रोशित देखिन्थे। कतिले त वैकल्पिक माध्यमबाट रकम झिक्न खोजे पनि त्यो सम्भव नहुँदा समय र श्रम दुवै खेर गएको गुनासो गरे।
सेवामा आएको अवरोधबारे जानकारी लिन शाखा सम्पर्क गर्दा जिम्मेवार प्रतिनिधिले स्पष्ट जवाफ दिन सकेनन्। उनले केवल ‘समस्या आएको छ’ भनेर चित्त बुझाउने खालको जवाफ दिए। समस्या के हो भन्ने प्रश्नमा उनले ‘सर्भर डाउन भएको हो, करिब दुई घण्टादेखि काम हुन सकेको छैन’ भन्ने जानकारी दिए।
तर, सेवा अवरुद्ध हुँदा शाखाले न त सूचना राखेको देखियो, न त सेवा पुनः सञ्चालनको कुनै ठोस समयसीमा बताइएको छ। शाखा भित्रै सेवाग्राही बस्ने व्यवस्था समेत नमिलाइएको हुँदा अधिकतमलाई बाहिरै कुर्नुपर्ने अवस्था छ।