धितो लिलामी नहुँदा बैंकहरु तनाबमाः ८० प्रतिशतले बढ्यो गैरबैंकिङ्ग सम्पत्ति, कुनसँग कति ?

३ बैशाख २०८२, बुधबार ११:५३

काठमाडौँ । वाणिज्य बैंकहरूको गैरबैंकिङ्ग सम्पत्ति चालु आर्थिक वर्षको ८ महिनामा उल्लेख्य रूपमा वृद्धि भएको छ । हाल संचालनमा रहेका वाणिज्य बैंकको गैरबैंकिङ्ग सम्पत्ति चालु आवको फागुन मसान्तसम्मको अवधिमा ८०.०३ प्रतिशतले बढेको हो ।

बैंकहरूले नउठेको कर्जाको धितो लिलाम बिक्री हुन नसकेपछि आफैंले स्वीकृत गरेर राख्ने सम्पत्तिलाई गैरबैंकिङ्ग सम्पत्ति मानिन्छ । नेपाल राष्ट्र बैंकका अनुसार फागुन मसान्तसम्म वाणिज्य बैंकहरूको गैरबैंकिङ सम्पत्ति ३६ अर्ब २० करोड ६७ लाख रुपैयाँ पुगेको छ । यो रकम गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १६ अर्ब ९ करोड ५६ लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा वाणिज्य बैंकको गैरबैंकिङ्ग सम्पत्ति २० अर्ब ११ करोड ११ लाख रुपैयाँ रहेको थियो ।

कर्जा असुली प्रक्रिया सफल नहुँदा बैंक तथा वित्तीय संस्थाहरू ऋणीले राखेको धितो सम्पत्ति आफैं स्वामित्वमा लिन बाध्य भइरहेका छन् । प्राथमिक रूपमा कर्जा प्रवाह र वित्तीय सेवा प्रदान गर्ने उद्देश्य बोकेका बैंकहरूलाई यस्तो वैकल्पिक सम्पत्ति राख्नु परेपछि यसको व्यवस्थापन थप चुनौतीपूर्ण बन्दै गएको छ । लिलामी प्रक्रियाबाट अपेक्षित परिणाम नआउँदा यस्ता सम्पत्तिहरूको मात्रा दिनप्रतिदिन बढिरहेको छ ।

सम्पत्तिको वृद्धिले बैंकहरूको वित्तीय प्रवाहमा अवरोध ल्याउनुका साथै सम्पत्ति व्यवस्थापन क्षमतामाथि पनि प्रश्न उठाइरहेको छ । दीर्घकालीन रूपमा यी सम्पत्तिहरू बेच्न नसक्दा बैंकहरूको नगद अभाव गहिरिँदै जान्छ, जसले ऋण लगानी क्षमतामा समेत असर पु¥याउँछ । यस्तो परिदृश्यले कर्जा उठाउने रणनीति फेरबदल गर्नुपर्ने आवश्यकता झनै स्पष्ट पारेको छ । स्थिति जटिल बन्दै गएपछि अब बैंकहरूले जोखिम न्यूनीकरणका उपायलाई प्राथमिकता दिनुपर्ने देखिन्छ । गैरबैंकिङ्ग सम्पत्ति न्यून गर्न दीर्घकालीन योजना, समन्वयात्मक प्रयास र वैकल्पिक पुनब्र्यवस्थापन नीति आवश्यक बन्दै गएको छ ।

गैरबैंकिङ्ग सम्पत्ति धेरै हुने वाणिज्य बैंकमा ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा रहेको छ । बैंकको गैरबैंकिङ्ग सम्पत्ति १४५ प्रतिशतले बढेर ५ अर्ब ८८ करोड ३५ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त सम्पत्ति २ अर्ब ३९ करोड ५२ लाख रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा गैरबैंकिङ्ग सम्पत्ति धेरै हुने दोस्रो स्थानमा रहेको हिमालयन बैंक रहेको छ । चालु आवको ८ महिनामा हिमालयनसँग ४ अर्ब ५३ करोड ४८ लाख रुपैयाँको गैरबैंकिङ्ग सम्पत्ति रहेको छ । जुन गत आवको तुलनामा ४३७ प्रतिशतले बढी हो ।

त्यस्तै, एनआईसी एशिया बैंकको गैरबैंकिङ्ग सम्पत्ति ३५ प्रतिशतले बढेर ४ अर्ब ३८ करोड, नबिल बैंकको १५४ प्रतिशतले बढेर ३ अर्ब ७५ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५८ प्रतिशतले बढेर ३ अर्ब १० करोड, कुमारी बैंकको ३८ प्रतिशतले बढेर २ अर्ब ५८ करोड र प्राइम बैंकको २.५४ प्रतिशतले घटेर २ अर्ब २ करोड रुपैयाँ रहेको छ ।

चालु आवको फागुन मसान्तसम्ममा लक्ष्मी सनराइजको१९ प्रतिशतले बढेर १ अर्ब ६२ करोड, प्रभु बैंकको ११९ प्रतिशतले बढेर १ अर्ब २६ करोड, एनएमबि बैंकको ४४ प्रतिशतले बढेर १ अर्ब १४ करोड, सिटिजन्स बैंकको २५० प्रतिशतले बढेर १ अर्ब ५ करोड, कृषि विकास बैंकको ३०३ प्रतिशतले बढेर १ अर्ब १ करोड रुपैयाँ गैरबैंकिङ्ग सम्पत्ति पुगेको छ ।

अन्य ७ बैंकको गैरबैंकिङ्ग सम्पत्ति भने १ अर्ब तल रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*