बीमा सूचना केन्द्र कुन मोडलमा तयार हुँदैछ ?

काठमाडौं । सरकारले बीमा सूचना केन्द्र स्थापना गर्ने व्यवस्था गरेको छ। बीमा सूचना केन्द्रको मोडल कस्तो हुन्छ भन्ने आम बीमकर्मी र बीमितहरुमा ज्ञिज्ञासा बढेको छ ।
सरकारले कर्जा सूचना केन्द्रको मोडलमा लाने तयारी गरेको बुझिएको छ ।
बीमा नियमावलीमा बीमा सूचना केन्द्रको अवधारणा आएको छ। उक्त नियमावली राजपत्रमा प्रकाशन हुन बाँकी छ । राजपत्रमा प्रकाशित भएपछि उक्त नियमावली लागू हुनेछ ।
त्यसपछि नियामक निकाय नेपाल बीमा प्राधिकरणले सूचना केन्द्र स्थापना गर्ने प्रक्रिया अघि बढाउने छ, जसमा प्राधिकरण र बीमा कम्पनीहरुको समेत स्वामित्व हुनेछ । नेपाल बीमा प्राधिकरणले बीमा सूचना केन्द्र स्थापना गर्न पहल सुरु गरेको छ । प्राधिकरणले बीमा सुचना केन्द्र स्थापना गर्न विभिन्न चरणमा छलफल समेत गरिसकेको छ ।
प्राधिकरणले सुरुवाती चरणमा बीमा अभिकर्ता संघ, सर्भेयर संघ, जीवन बीमक संघ र नेपाल बीमक संघ र सम्बन्धित सरोकारवाला पक्षहरुसँग बसेर यस बिषयमा अन्तक्रिया समेत गरिसकेको छ । बीमा प्राधिकरणले बीमा र बीमक सम्बन्धी गुनासोलाई एकद्वार प्रणालीमार्फत सुनुवाइ गर्न सार्वजनिक कम्पनीको रुपमा बीमा सूचना केन्द्र स्थापना गर्ने योजना अगाडि सारेको थियो ।
योजनाका साथ काम अघि बढाएको थियो । बीमितका गुनासो मात्रै नभएर बीमकरबीमितलाई कालोसूचीमा राख्नेदेखि निगरानी गर्नेसम्मका काम सूचना केन्द्रबाट हुनेछन् ।
बिशेषगरी बीमा क्षेत्रमा हुने ठगीका घटनालाई न्यूनीकरण गर्न सूचना केन्द्र स्थापना गर्न लागिएको हो । केन्द्रले बीमा क्षेत्रमा हुने ठगीको घटना तथा व्यक्तिको सूचना संकलन, भण्डारण तथा वितरण गर्नेछ ।
केन्द्रले बीमा ठगी, जालसाजी, किर्ते लगायतका बीमा अपराध गरेको व्यक्तिलाई कालोसुचीमा राख्नेछ । कालोसुचीमा परेकाले थप बीमा सेवा लिन पाउने छैनन् । यस्तै, अस्वभाविक वा शंकास्पद बीमा गतिविधी गर्ने बिमितलाई शंकास्पदको सुचीमा राख्ने छ । त्यस्ता व्यक्तिलाई बीमा सेवा पाउन चुनौती हुनेछ ।
साढे सात दशक लामो इतिहास बोकेको बीमा क्षेत्रमा पहिलादेखि नै ठगी तथा अपराधको क्रियाकलाप हुँदै आएका छन् । तर, त्यसको विवरण एकीकृत ठाउँमा राख्ने निकाय थिएन । अपराध गर्ने व्यक्ति तथा संस्थालाई सम्बन्धीन्त कम्पनी र नियामक निकाय बीमा प्राधिकरणले मात्रै चिन्दथ्यो । त्यसले गर्दा त्यस्ता व्यक्ति तथा संस्थाले पुनः अर्को कम्पनीमा गएर ठगी तथा अपराध गर्ने प्रवृत्ति थियो ।
तर, अब बीमा गठी तथा अपराध गर्ने व्यक्ति तथा संस्थाको एकीकृत विवरण अब सुचना केन्द्रले राख्नेछ । त्यो सुचना केन्द्रमा सबैको पहुँच हुनेछ । त्यसको कालोसुची तथा शंकास्पद सुचीमा भएका व्यक्ति तथा संस्थाले कतै पनि बीमा सेवा पाउने छैनन् ।
अहिले बैंकबाट कर्जा लिएर नतिर्नेहरुको विवरण राख्ने काम कर्जा सूचना केन्द्रले राख्ने गर्छ । ऋण नतिर्ने लगायतका कालोसुचीमा राख्ने काम पनि कर्जा सुचना केन्द्रले गर्दछ । त्यस्तो सूचीमा पर्ने व्यक्ति तथा संस्थाले कर्जा लगायतका थप बैंकिङ सुविधा पाउने छैनन् । सोही मोडलमा बीमा सूचना केन्द्र सञ्चालन गर्ने प्राधिकरणको तयारी छ ।