वाणिज्य विभागद्वारा गुट्खा तथा खैनीको बिक्री वितरणमा रोक

२ बैशाख २०८२, मंगलवार १८:२५

काठमाडौं । उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुईवटा व्यवसायिक फर्महरूमाथि निर्देशन जारी गरेको छ।

मंगलबार विभाग अन्तर्गतको आपूर्ति अनुगमन तथा उपभोक्ता संरक्षण शाखाले गरेको निरीक्षणका क्रममा श्री पशुपती ट्रेडिङ कन्सर्न र पशुपतिनाथ इन्टरनेशनल विजनेस नामक व्यवसायहरूमाथि उपभोक्ता हक हितविरुद्धको कार्य देखिएकोले कानुन बमोजिम आवश्यक निर्देशन दिइएको विभागले जानकारी दिएको छ।

श्री पशुपती ट्रेडिङ कन्सर्न, काठमाडौं महानगरपालिका–१७ स्थित उद्योगबाट बिक्री गरिने उत्पादनमा अधिकतम खुद्रा मूल्य सहितको लेबल अनिवार्यरूपमा टाँसी बिक्री गर्नुपर्ने तथा व्यवसायसँग सम्बन्धित सम्पूर्ण कागजातहरू तीन दिनभित्र विभागमा उपस्थित भई पेश गर्न निर्देशन दिइएको छ।

त्यस्तै, ललितपुर महानगरपालिका–२ मा रहेको पशुपतिनाथ इन्टरनेशनल विजनेस प्रा।लिले बिक्री गर्दै आएको करेन्ट गुट्खा, भोला गुट्खा, भोला पावर खैनी, जित खैनी लगायतका सामग्रीहरूको नमूना संकलन गरिएको छ। विभागले यी उत्पादनहरूको बिक्री तथा वितरणमा रोक लगाउँदै सम्बन्धित व्यवसायीलाई तीन दिनभित्र सम्पूर्ण कागजात सहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ।

दुवै व्यवसायहरूमाथि उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३३ को उपदफा (३) बमोजिम निर्देशन जारी गरिएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*