बूढीगण्डकी आयोजनाबाट विस्थापन हुने बस्तीका लागि मुआब्जा निर्धारण

काठमाडौँ । बूढीगण्डकी जलविद्युत् आयोजनाको बाँध निर्माणस्थल आसपासका बासिन्दाका लागि मुआब्जा दर निर्धारण गरिएको छ । गोरखाको चुमनुब्री गाउँपालिका–३, सल्लेरीस्थित बस्ती क्षेत्रका जग्गा तथा संरचनालाई मूल्याङ्कन गर्दै स्थानीय जनप्रतिनिधि, प्रवर्द्धक कम्पनी साहस ऊर्जा र स्थानीयवासीको सहभागितामा मुआब्जा सम्बन्धी निर्णय गरिएको हो ।
साहस ऊर्जाका प्रबन्ध निर्देशक हिम पाठकका अनुसार सल्लेरी बस्ती क्षेत्रको जग्गाको प्रतिआना तीन लाख रुपैयाँ दर तोकिएको छ । तर, चार आनाभन्दा कम क्षेत्रफल भएको जमिनको हकमा प्रतिआना चार लाख रुपैयाँसम्म मुआब्जा प्रदान गरिनेछ । बस्ती क्षेत्रबाहिरको जग्गाका लागि प्रतिआना एक लाख ५० हजार रुपैयाँको दर कायम गरिएको छ । आयोजनाबाट करिब ८० रोपनी जग्गा प्रभावित हुने प्रारम्भिक अनुमान गरिएको छ ।
हालका लागि घरको मूल्याङ्कन भने नगरिएको बताइएको छ । गाउँपालिकाका प्राविधिकले तयार पार्ने विस्तृत प्रतिवेदनका आधारमा मात्र संरचनाको मुआब्जा निर्धारण हुने प्रबन्ध निर्देशक पाठकले जानकारी दिए । परियोजना क्षेत्रभित्र पर्ने २६ घरधुरी विस्थापित हुनेछन् भने उनीहरूको पुनःस्थापनासम्बन्धी विषयमा छलफल जारी छ ।
चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाका अनुसार विस्थापित हुनेलाई सल्लेरीबाट अन्य स्थानमा पुनःस्थापना गर्नेसम्बन्धी प्रारम्भिक प्रस्तावमा ‘फिलिम’ र ‘जगत’ क्षेत्रलाई विकल्पका रूपमा प्रस्तुत गरिएको छ, यद्यपि औपचारिक निर्णय भने भइसकेको छैन ।
मुआब्जा निर्धारण तथा छलफलका लागि आयोजित भेलामा गाउँपालिका अध्यक्ष निमा लामा, उपाध्यक्ष लक्ष्मी गुरुङ, वडा अध्यक्ष र सदस्यहरू, कांग्रेस, एमाले, माओवादी केन्द्रका प्रतिनिधि तथा सल्लेरी, भालुवन, जगत र नाग्चेत क्षेत्रका बासिन्दा सहभागी थिए ।
अर्धजलाशययुक्त प्रविधिमा आधारित ३४१ मेगावाट क्षमताको यो आयोजना निजी क्षेत्रबाट सञ्चालित हालसम्मकै ठूलो जलविद्युत् आयोजना हो । आयोजनाअन्तर्गत सल्लेरीमा बाँध निर्माण गरी करिब ६.८ किलोमिटर लामो भूमिगत सुरुङमार्फत धार्चे–३, तातोपानीस्थित पावर हाउससम्म पानी ल्याइनेछ । त्यहीँबाट उत्पादन भएको विद्युत् ४५ किलोमिटर लामो प्रसारण लाइनमार्फत नुवाकोटको रातामाटे सबस्टेसन हुँदै राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । आयोजनाको कुल लागत करिब ७० अर्ब रुपैयाँ रहेको छ ।